खर्च धान्न नसक्दा झापाका ३ सिमेन्ट उद्योग बन्द

श्रमिकको रोजगारी र सरकारी राजस्वमा प्रत्यक्ष असर
माघ १५, २०८० |गणेशमान मुखिया
खर्च धान्न नसक्दा झापाका ३ सिमेन्ट उद्योग बन्द

झापा । झापामा आठवटा सिमेन्ट उद्योग छन् । वार्षिक उत्पादन उत्पादन क्षमता एक करोड ५० लाख बोरा हो । तर अहिले उत्पादन ४० प्रतिशतबाट पनि ओरालो लागेको छ । तीनवटा उद्योग त बन्दै भए । यसको प्रत्यक्ष असर श्रमिकको रोजगारी र सरकारी राजस्वमा परेको छ ।

झापा मेची नगरपालिकामा २०७४ सालमा स्थापना भएको सनराइज सिमेन्ट उद्योगको दैनिक उत्पादन २० हजार बोरा हो । गत जेठ महिनाबाट उद्योग बन्द छ । उत्पादनले खर्च धान्नै छोडपछि बन्द गर्नुको विकल्प नरहेको सञ्चालक उमेश लालमिया बताउँछन् ।

बिर्तामोड नगरपालिका २, चैतुवारीमा रहेको कञ्चनजंगा सिमेन्ट उद्योग रातको समयमा सञ्चालन हुन्छ । दिउँसोभन्दा राति बिजुली सस्तो हुने भएकाले राति उद्योग सञ्चालन गरिएको हो । राति उद्योग चल्दा सामान्यभन्दा दुईतिहाइ कम उत्पादन हुन्छ । झापाका सबै सिमेन्ट उद्योग घिटिघिटि गरेर सञ्चालनमा छन् । बैंकले घरजग्गामा कर्जा प्रवाह नगर्नु, निर्माण ठप्प हुनु, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी रकम नपाउँदा आर्थिक इको सिस्टम बिग्रिएको कञ्चनजंघा सिमेन्ट उद्योगका अध्यक्ष मीनप्रकाश मैनाली बताउँछन् ।

वर्षौंदेखि ठेकेदार काम गर्नेहरु, अहिले मिस्त्री गर्दै छन् । यहाँ १० जना काम गर्नेमध्ये पहिले ठेकेदारमा काम गर्ने ६ जना छन् । पेट पाल्न र घरपरिवार चलाउन श्रमिकको रुपमा काम गर्न उनीहरु बाध्य छन् ।

सिमेन्ट उत्पादन ह्रासको असर राजस्व संकलनमा पनि परेको आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेको भनाइ छ । उनका अनुसार भ्याटबाहेक अन्त:शुल्क रकम गत आर्थिक वर्षको पुस मसान्तमा ७५ प्रतिशत थियो भने यस वर्ष ४९ प्रतिशतमा झरेको छ ।

सिमेन्ट उत्पादनमा झन्डै आत्मानिर्भर भइसकेको अवस्थामा ठूलो विदेशी लगानीका कारण साना उद्योगहरु प्रत्यक्ष मारमा परेका हुन् । अझ घर तथा निर्माण कार्य सुस्त हुँदा सिमेन्ट उद्योग नै बन्द हुन थालेका हुन् ।

सिकिस्त सिमेन्ट उद्योग, बिकेन उत्पादन


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।