सिकिस्त सिमेन्ट उद्योग, बिकेन उत्पादन

माघ १५, २०८० |बालकृष्ण अधिकारी
सिकिस्त सिमेन्ट उद्योग, बिकेन उत्पादन

हेटौंडा । गत साउन २५ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग अझै सञ्चालन हुनसकेको छैन । कोइला र जिप्सम आयात गर्न नसकेको यो उद्योगले कच्चा पदार्थ अभावको कारण देखाउँदै उत्पादन रोकेको छ । उद्योगमा नौ करोड ७० लाख मूल्यको तयारी सिमेन्ट मौज्दात छ । तर यो सिमेन्ट बिक्री गरेर कच्चा पदार्थ आयात गर्न उद्योग प्रशासन असमर्थ देखिएको छ ।

यस आर्थिक वर्षको ६ महिनामा हेटौंडा सिमेन्ट उद्योगले दुई लाख ६० हजार ९४६ बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगको गोदाममा अझै एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात छ । दैनिक ७५० टन क्षमता भएको उद्योगले वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्न सक्छ । तर जीर्ण उपकरणका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उत्पादन लागत बढेकाले निजी लगानीका उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिएको दाबी गर्ने उद्योग प्रशासन तयारी सिमेन्ट बिक्री गरेर आएको पैसाले कच्चा पदार्थ किन्ने अवस्था हुँदा-हुँदै पनि त्यसमा चुकेको छ ।

एक अर्ब ३८ करोड ९० लाख रुपैयाँमा २०३३ सालमा स्थापना भएको यस उद्योगले २०४३ मंसिरदेखि नियमित उत्पादन थालेको थियो । आर्थिक वर्ष ०७४/७५ सम्म चार वर्ष नाफामा रहेको उद्योग त्यसयता निरन्तर घाटामा छ । यो उद्योगले आव ०७५/७६ यता ९० करोड रुपैयाँ घाटा बेहोरेको छ । पुराना उपकरण प्रतिस्थापन गरी नयाँ जडान गर्न उद्योगले सरकारसँग एक अर्ब ६० करोड रुपैयाँ माग गर्दै आएको छ । सरकारी स्वामित्वको यो उद्योग सञ्चालन गर्ने वातावरण बनाउन उद्योग प्रशासन र सरकारी उदासीनता उदेक लाग्दो देखिएको कर्मचारीहरु बताउँछन् ।

गुणस्तरका हिसाबले समेत हेटौंडा सिमेन्ट विगतदेखि नै उपभोक्ता माझ लोकप्रिय थियो । तर सिमेन्ट बिक्री गर्न नसकेर गोदाममै थन्किने वातावरण आउनु भने आश्चार्यजनक छ । उद्योग सञ्चालनका लागि सरकार र उद्योग प्रशासन बेलैमा जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

खर्च धान्न नसक्दा झापाका ३ सिमेन्ट उद्योग बन्द


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।