कांग्रेसले राजनीतिमा छुद्र खेल खेलेको ओलीको आरोप

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले राजनीतिमा छुद्र खेल खेलेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिमा छुद्र खेल खेलेको आरोप लगाउनु भएको छ । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति तिखो प्रहार गर्नु भयो । उहाँले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनु भयो । 

उपप्रधान तथा गृहमन्त्री रविलामिछाने को बचाउ गर्दै ओलीले कांग्रेसले संसदीय छानबिनको माग गर्दै, जसमाथि प्रश्न उठाएको छ उसैलाई संसदमा बोल्न नदिएर अलोकतान्त्रिक चरित्र देखाएको बताउनु भयो ।

ओलीले भन्नु भयो, 'एकातिर डेढ वर्ष तपाईं प्रधानमन्त्री भइदिनुस् । यो समीकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस् । डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्न जाने । त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाइल बोकेर रिसर्च गर्नुपर्ने । नेपाली कांग्रेसको यस्तो तरिका फयर छैन ।' उहाँले  लामिछानेले महान्यायाधीवक्ताको कार्यालयबाट समेत पत्र मगाएर सहकारी ठगीमा आफू कतै नजोडिएको प्रमाण दिइसकेको भन्दै लामिछानेको बचाउ गर्नु भयो ।

'उजुर हालेको भरमा छानविन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुरी पर्दछन् । सबैको छानविन हुन्छ । आधार त केही पनि चाहिँदैन,' ओलीले भन्नुभयो, 'यस्तो खालको कुरा कमसेकम नेपाली कांग्रेसले गर्नु हुँदैन । प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति राजनीति होइन ।’

ओलीले वर्तमान सत्ता समीकरणलाई दुई महिनामै ढाल्न सकिन्छ कि भनेर समीकरणभित्र रहेका दलहरुले नै चलखेल सुरु गरेको समेत आरोप लगाउनु भयो । जनता समाजवादी पार्टी नेपाल फुट्नु पनि त्यसकै परिणाम भएको उहाँको भनाइ थियो ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गर्नु भयो । '१० वटा सिट भएको पार्टीको, राष्ट्रिय पार्टी होइन, त्यस पार्टीको प्रतिनिधिले प्रतिनिधिसभामा विश्वासको मत दिने सन्दर्भमा भएको छलफल म सम्झिरहेको छु,' एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई व्यंग्य गर्दै उहाँले भन्नु भयो, 'त्यहीबीचमा त्यो पार्टीका नेताहरुले म प्रधानमन्त्री हुनै आँटे भनेर कसैको मन भतभत पोल्या छ भन्ने, कहाँ प्रधानमन्त्री हुन आँटे, कताबाट आँटे ।'

ओलीले बजेट अधिवेशनमा प्रतिपक्षी कांग्रेस कसरी प्रस्तुत हुन्छ, त्यही अनुसार तयारी गर्न र नीति तथा कार्यक्रम र बजेटका लागि अध्ययन गरेर प्रस्तुत हुने आफ्ना सांसदहरुलाई निर्देशनसमेत दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.