बजारमा माग घटेपछि झापामा एक दर्जन इँटा उद्योग बन्द

तीन वर्षमा पाँच हजार श्रमिक बेरोजगार
पुस २०, २०८० |गणेशमान मुखिया
बजारमा माग घटेपछि झापामा एक दर्जन इँटा उद्योग बन्द

झापा । बजारमा इँटाको माग उल्लेख्य घट्दा झापामा इँटाभट्टा बन्द हुने क्रम बढ्दो छ । तीन वर्षअघि प्रतिगोटा १८ रुपैयाँ पर्ने इँटा अहिले १५ रुपैयाँमा बिक्री हुन छाडेको छ । लागत मूल्य नै उठ्न छाडेपछि एक दर्जन इँटा उद्योग बन्दा भएका छन् ।

यो झापा जुरोपानीमा रहेको, पञ्चेश्वर इँटा उद्योग हो । २०५९ सालमा स्थापना भएको उद्योगले वार्षिक ४० लाख इँटा उत्पादन गर्थ्यो । चिम्नीबाट धुवाँ नआएको २ वर्ष भयो । चिम्नीसँगैको मैदानमुनि ८ लाख इँटा छन् । बजारमा माग हुनै छाडेपछि सञ्चालकसँग उद्योग बन्द गर्नुको विकल्प रहेन ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुवारीमा रहेको लक्ष्मी इँटा भट्टा २०४५ सालमा स्थापना भएको हो । कोरोना कालमा समेत सञ्चालन भएको उद्योग अहिले बन्द छ । इँटा पोल्ने भट्टाभित्र उन्यू र झार फुलेको छ । घर निर्माण तथा विकास कार्य न्यून हुनु, बैंकको ब्याजदर दोब्बरले बढ्नु, घर कर्जा लगानी नहुनु, इँटा पोल्ने कोइलाको दाम दोब्बरले बढ्नू, भट्टा बन्द हुनुका कारणहरू हुन् ।

एउटा भट्टामा प्रत्यक्ष, अप्रत्यक्ष गरी ४ सय श्रमिकले रोजगारी पाउँछन् । एक दर्जन उद्योग बन्द हुँदा ५ हजार श्रमिक बेरोजगार भएका छन् ।

इँटा उद्योग बन्द हुँदा व्यवसायीको लगानी डुब्ने मात्रै नभई त्यसमा आबद्ध मजदुर कर्मचारीको रोजिरोटीसमेत गुम्छ । निर्माण उद्योगलाई चलायमान बनाई बन्द भएका र रुग्ण बनेका इँटाभट्टा सञ्चालन गर्नतर्फ सरोकारवालाले ध्यान दिन जरुरी छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।