बाह्रबिसे-लिपिङ सडकखण्ड जीर्ण हुँदा तातोपानी नाका प्रभावित

चैत्र ६, २०७९ |कमला पाख्रिन
बाह्रबिसे-लिपिङ सडकखण्ड जीर्ण हुँदा तातोपानी नाका प्रभावित

सिन्धुपाल्चोक । चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) र सडक डिभिजन कार्यालय चरिकोटले कोदारी राजमार्गको बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटरको सडक सुधारका लागि काम गरेको धेरै भयो । सुधारका लागि बर्सेनि लगानी भए पनि  सडकको दुरवस्था उस्तै छ । सडक स्तरोन्नति हुन नसक्दा तातोपानी नाकाबाट हुने व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।

वैकल्पिक सडक नहुँदा तातोपानी नाका जोडिएको सडकमा खासाबाट सामान बोकेर आएका ठूला कन्टेनर जोखिम मोलेर सामान ढुवानी गर्न बाध्य छन् । जीर्ण सडककै कारण दुर्घटना बढ्न थालेपछि सवारी साधन ढुक्कले चल्न पाएको छैन ।

बर्सेनि सडक निर्माणको काम हुन्छ तर सडकको जीर्ण अवस्था देख्दा डराउनुपर्ने अवस्था छ । गत वर्ष ठाउँ ठाउँमा पिच गरिएको सडक चिरा पर्न थालेका छन् । नदी छेकेर उठाएका पक्की पर्खालहरू भत्किन थालेका छन् । कोदारी सडक बनाउन सडक डिभिजनले बर्सेनि करोडौँ रुपैयाँको ठेक्का आह्वान गर्छ । थुप्रै ठेकेदार कम्पनीले यो सडक बनाउन काम गरे । तैपनि, सडकको दुरवस्था उस्तै छ ।

सडकलाई दीर्घकालीन सञ्चालनभन्दा पनि बजेट सकाउने होड मात्रै चल्ने गरेको छ । सरकारमार्फत चरिकोट डिभिजनले कोदारी सडकलाई बर्सेनि गर्ने करोडौँ लगानी बालुवामा पानी खन्याएझैँ भएको छ । यसको सिधा असर तातोपानी नाकामा परेको छ ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको कोदारी राजमार्गमा चीन सरकारको अनुदान एक अर्ब ३० करोड  र नेपाल सरकारको कोषबाट ३८ करोड गरी गएको दुई वर्षमा डेढ अर्बभन्दा बढी खर्च भइसकेको छ । सडक डिभिजन कार्यालयले चरिकोटले सडकको मर्मत सम्भारको लागि यस वर्ष दुई अर्ब ८६ करोड थप बजेट माग गरेको छ ।

यता तातोपानी नाका सुरक्षाका विषयमा नेपाल र चीनका अधिकारीहरूले छलफल भने गरेका छन् ।

चीनको खासा बजारमा नेपाल र चिनियाँ अधिकारीहरूको संयुक्त बैठक आज बसेको हो । बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारीहरू उपस्थित थिए । 

कोरोना महामारीका कारण यसअघि भर्चुअल मिटिङ हुने गरेकोमा यस पटक भौतिक उपस्थितिमा बैठक बसेको हो । तीन वर्षपछि चिनियाँ भूमिमा प्रत्यक्ष बैठक हुनु महत्त्वपूर्ण काम भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताए । 

नाका पूर्ववत् सञ्चालनका लागि पहलकदमी, चीनबाट आयात भएको सामान र सीमामा चहलपहल बढ्दै गएकाले नाका सुरक्षा कडाइलगायतका विषयमा छलफल भएको थियो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement