अर्थतन्त्रको गतिप्रति अर्थमन्त्री नै असन्तुष्ट

मंसिर २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्रको गतिप्रति अर्थमन्त्री नै असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अपेक्षाअनुसार अर्थतन्त्रमा सुधार आउन नसकेको स्वीकार गर्नुभएको छ । मन्त्री पौडेलले अर्थतन्त्र सुधारको गतिप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

संसद्को अर्थ समितिको आज बसेको बैठकमा सांसदहरुले अर्थतन्त्र सुधारले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएपछि मन्त्री पौडेलले आवश्यक मात्रामा बजारमा कर्जा जान नसकेको बताउनुभयो । सांसदहरुको असन्तुष्टिमा सहमति जनाउँदै उहाँले कर्जा बढाउन नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले बजेटमा ७५ हजारसम्मका कार्यक्रम राखिँदा त्यसलाई कार्यान्वयनमा लान अप्ठ्यारो भएको बताउनुभयो । उहाँले छेउमै बस्नुभएका बजेट निर्माण गरेका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई साना आयोजना पनि केन्द्रले हेर्ने हो भने प्रदेश र स्थानीय सरकारले कस्ता आयोजना राख्ने भनेर अप्रत्यक्षरुपमा प्रश्न पनि गर्नुभयो । पूर्वअर्थमन्त्री पुनले भने सहकारी तथा लघुवित्तमा देखिएको समस्या तत्काल सम्बोधन गर्ने विषय बजेटमा समावेश भए पनि सरकारले त्यसको सम्बोधन नगर्दा अर्थतन्त्र चलायमान बन्न नसकेको दाबी गर्नुभयो ।

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि सरकारले बजेटलाई दोष देखाइरहेको छ । तर सांसदहरुले भने भन्सारमा आवश्यक सुधार नहुँदा राजस्व प्रभावित भएको तर्क गरे । उनीहरुले भन्सारमा तत्काल सुधार ल्याउने काम गर्न अर्थमन्त्रीलाई आग्रह पनि गरे । जसपा नेपालका सांसद उपेन्द्र यादवले बन्द भएका छोटी भन्सार चलाउन आग्रह गर्नुभयो ।

तर मन्त्री पौडेलले भने तत्काल थप भन्सार नाका चलाउने योजनामा सरकार नरहेको बताउनुभयो । नेकपा एमालेका सांसद पदम गिरीले भन्सारमा रहेका उपकरण तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन र आधुनिकीकरण गर्न सुझाव दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement