विष्णुमाया परियारलाई ‘बद्री पहाडी समाजसेवा पुरस्कार’

चैत्र १, २०८० |कान्तिपुर टीभी संवाददाता
विष्णुमाया परियारलाई ‘बद्री पहाडी समाजसेवा पुरस्कार’

काठमाडौं । मानवअधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान गरेकी अधिकारकर्मी डा. विष्णुमाया परियारलाई वर्ष २०८० को ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ ।

मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष प्रदान गर्ने एक लाख १० हजार राशिको यो पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सुपरिचित डा. परियारलाई प्रदान गर्ने निर्णय गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए । उनका अनुसार समाजको पुरस्कार छनोट समितिले हिजो (फागुन ३० गते, बुधबार) डा. परियारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साढे दुई दशकभन्दा बढी अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील अभियन्ता डा. परियारले विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानमा अतिथि वक्ताका रुपमा विचार व्यक्त गर्दै आएकी छन् ।

सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ । यसैगरी उनको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशनगृहद्वारा प्रकाशित पुस्तकमा पनि समावेश छ ।

अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा. परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् । पाइन म्यानर कलेजले सन् २०१३ मा उनलाई मानार्थ डी. लिट (डक्टर अफ लेटरस्) ले सम्मान गरेको थियो । हाल अमेरिकामा रहेकी डा. परियारका दुईवटा कृति प्रकाशित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement