जो जेनतेन जोगाइरहेछन् सारङ्गी गायन...

फाल्गुन १८, २०८० |रमा दाहाल
जो जेनतेन जोगाइरहेछन् सारङ्गी गायन...

झापा । कुनै समय यस्तो थियो, समाजका घटना-परिघटनाहरु गन्धर्वको गीतबाट मात्र आम मानिसले थाहा पाउँथे । अहिले समय धेरै बदलियो । विश्वका जुनसुकै कुनामा भएका घटना पनि छिनभरमै संसारभर फैलिन्छ । तै पनि गन्धर्वले आफ्नो पुर्ख्यौली पेसा सारङ्गी गायनलाई जेनतेन जोगाइरहेका छन् । 

पुस्तौंदेखि गाउँ गाउँ डुलेर सारङ्गी बजाउने यी गन्धर्वलाई आजभोलि भने पेसा जोगाउनै हम्मे पर्न थालेको छ । सहर बजारका मेला महोत्सव र पर्व जात्राहरूमा सारफी बजाएर जुटेको चामल पैसाले परिवार पाल्नु उनीहरूको बाध्यता बनेको छ । 

झापाको कचनकवल गाविस वडा नम्बर २ मा पर्ने सुकुनाडिगी र आदर्श टोलमा गरी ४८ परिवार गन्धर्व छन् । तीमध्ये अधिकांश परिवारको पेट पाल्ने माध्यम नै यही सारङ्गी हो । बालबच्चालाई राम्रो शिक्षा दिन नसकेका उनीहरू भावी पुस्ताले पनि आफ्नो विंडो थामिदेओस् भन्ने चाहना राख्छन् ।

सारङ्गीसँगै जीवन साटिरहेका यी गन्धर्वले आफ्नो पहिचान जोगाउन सारङ्गी सङ्ग्रहालयको योजना बनाएको धेरै भयो । त्यही योजनाअनुसार आदर्श टोलमा सङ्ग्रहालय निर्माण पनि सुरु भएको छ । तर, बजेट अभावका कारण अहिलेसम्म पूरा नहुँदा गन्धर्व समुदायका अगुवाहरू दुःखी छन् ।

कचनकवलका जनप्रतिनिधि भने सारङ्गी सङ्ग्रहालयका साथै गन्धर्व समुदायको उत्थानका लागि गाउँपालिकाले बर्सेनि बजेट छुट्याएको दाबी गर्छन् तर स्थानीय तहको यो झिनो सहयोगले मात्र गन्धर्व समुदायको उत्थान र सारङ्गीको संरक्षण हुने देखिँदैन । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।