दोलखाकी देविका थामीकाे संघर्ष : घरेलु श्रमिकहुँदै गाउँपालिका उपाध्यक्षसम्म

फाल्गुन २५, २०८० |केदार शिवाकोटी
दोलखाकी देविका थामीकाे संघर्ष : घरेलु श्रमिकहुँदै गाउँपालिका उपाध्यक्षसम्म

दोलखा । दोलखाकी देविका थामीलाई विद्यालय जाने उमेरमा बाख्रा गोठालो बन्नुपर्‍यो । पढ्ने र खेल्ने उमेरमा घरेलु श्रमिक भएर बस्दा पनि देविकाले संघर्ष गर्न भने छाडिनन् । छोरालाई विद्यालय भर्ना गराउने, तर छोरीलाई विद्यालयभन्दा घरधन्दा र गोठाला पठाउने मान्यताले जरो गाडेको अल्पसंख्यक थामी समुदायमा संघर्ष गरेर स्थापित बनेकी महिला हुन्, देविका । घरेलु श्रमिकदेखि राजनीतिक यात्रामा गरेको संघर्षले आज देविका अल्पसंख्यक समुदायबाट विगु गाउँपालिकाको उपाध्यक्षमा पुगेर जिल्लाकै स्थापित नेतृ भएकी छन् ।

एकै परिवारका दाजुभाइ विद्यालय जाादा दोलखाकी देविका थामी भने छोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने सामाजिक कुसंस्कारको शिकार बनिन् । उनी विद्यालय जान पाइनन् र गोठालो बनिन् । २०४४ सालमा उनको परिवारै रोजगारी खोज्दै भारतको दार्जिलिङ पुग्यो । उनी पनि सँगै गइन् । त्यहाँ पनि दाजुभाइ विद्यालय जान्थे, उनी भने घरेलु श्रमिक बनिन् । तर, उनले पढने ईच्छा मारिनन् । चिया बोक्दा बोक्दै केही व्यक्तिले सहयोग जुटाईदिएपछि पहिलो पल्ट विद्यालयमा पाईला टेकिन् ।

कक्षा ७ सम्म अध्ययन गरेर परिवारसागै गाउँ फर्केकी देविकालाई पुनः परिवारले विद्यालय जान रोक लगाएपछि विद्रोह गरेर गाउाकै विद्यालयमा भर्ना भइन् । कक्षा ८ मा भर्ना भएकै बेला परिवारले उनको विवाह गर्ने प्रस्ताव ल्यायो ।

विद्यालयमा विद्यार्थी संगठनमा आवद्ध भएर समुदायका अन्यलाई पनि विद्यालय भर्ना गर्नुपर्छ भनेर उनले आवाज उठाईन । तर, उनीमाथि गाउFमा छोरीचेली बिगारेको आरोप लाग्यो । सामाजिक अवरोधकाबीच उनले गाउँमा लैंगिक विभेदमा आवाज उठाइरहिन् ।

विद्यालय शिक्षा सकेर ५ सय तलवमा स्थानीय थम्पु माध्यमिक विद्यालयमै बालशिक्षिका बनेकी देविकाले गाउँका बालबालिकालाई पढ्न प्रेरित गरिन् । १३ वर्ष बाल शिक्षिका बनेकी उनले महिला अधिकार मञ्चबाट समुदायमा छोरीलाई शिक्षा अनिवार्य भन्दै अभियान चलाइन् । छोरीबुहारीमाथी हुने सामाजिक विभेदको वकालत गरिन् ।

सामाजिक अभियन्ता बनेर लैगिंक विभेदविरुद्ध आवाज उठाउँदाउठाउँदै उनी राजनीतिमा पनि सक्रिय भइन् । सामान्य परिवामा जन्मेकी देविका आर्थिकरुपमा महिलालाई सवल बनाउनुपर्छ भन्ने मान्यता राख्छिन् । अहिले विगु गाउँपालिकाको उपाध्यक्ष भएकी देविका दुर्गमका अल्पसंख्यक सिमान्तकृत महिलालाई चुलोचौकोबाट बाहिर ल्याउन राज्यसँग लडिरहेकी छिन् । 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।