सीमान्तकृत सन्थाल समुदायमा शिक्षाको गोरेटो खनिरहेकी हीरा मिस

फाल्गुन २५, २०८० |रमा दाहाल
सीमान्तकृत सन्थाल समुदायमा शिक्षाको गोरेटो खनिरहेकी हीरा मिस

झापा । पूर्वी तराईका सन्थाल, राजवंशी, गनगाईँ लगायत मूलबासी मधेसी समुदायमा अहिले पनि छोरी पढाउनेहरु कमै छन् । गरिबी, अशिक्षा र पछौटेपनले गाँजेको यो समूदायमा सन्थाल त झनै पिछडिएको जातिमा गनिन्छ । यही अँध्यारोकाबीच छोरीहरुलाई शिक्षाको ज्योति छर्न तम्सिएकी नारी हुन् झापाको कमल गाउँपालिकाकी हीरा हस्ता ।

झापाको कमल गाउँपालिका वडा नम्बर २ मा पर्ने सुनाहारा गाउँको सन्थाल वस्तीमा छ हीरा हस्ताको घर। शिक्षा र स्वास्थ्यका हिसाबले निकै पिछडिएको यो गाउँबाट बालबालिका बटुल्दै उनी तीन किलोमिटर टाढाको कमला मदनआश्रित स्मृति माविमा पढाउन जान्छिन् । २१ वर्षदेखि उनी यस विद्यालयमा शिक्षकका रुपमा कार्यरत छिन् ।

शिक्षा र चेतनाको अभावकै कारण सन्थाल समुदायले आफ्नो पुर्ख्यौली सम्पत्ति गुमाएर गरिबीमा रुमल्लिनु परेको हीराले राम्ररी बुझेकी छन् । त्यही भएर पनि उनी गाउँका कोही सन्थाल बालबालिका स्कुल गएनन् कि भनेर साधै चनाखो रहन्छिन् ।

हीराको उमेर समुहका अरु छोरीले भने पढ्न पाएनन् । हातका औंला सग्ला नभए पनि उनले जसोतसो प्लस टुसम्म पढ्न पाइन् । अर्काकोमा बनीबुती गर्दै भएपनि पढेकी उनी सन्थाल समुदायका छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको संवाहक नै बनेकी छन् ।

स्कुलमा छँदा साना नानीबाबुको स्याहार सुसारमै बिताउने उनी सााझ बिहान भने आफूजस्तै पिछडिएका समुदायमा चेतना बाँड्न व्यस्त हुन्छिन् । उनकै सक्रियताले नजिकका विद्यालयमा सन्थाल समुदायका विद्यार्थी निकै बढेका छन् । उनी पढाउने स्कुलमा मात्र एक सयभन्दा बढी विद्यार्थी सन्थाल समुदायकै छन् ।

पूर्वी तराईमा बसोबास गर्ने पिछडिएको सन्थाल समुदायमाझ शिक्षा र चेतना फैलाइरहेकी ५३ वर्षीया हीरा साच्चीकैकि हिरा हुन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।