साहसी पर्यटक पर्खिँदै नेपालका शिखरहरू !

‘एड्भेन्चरस पर्यटक’को रोजाइमा नेपालका हिमाल
चैत्र १६, २०८० |भरत रावल
साहसी पर्यटक पर्खिँदै नेपालका शिखरहरू !

काठमाडौं । नेपालमा १७ सयभन्दा बढी हिमाल छन् । आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल त नेपालमै छन् । हिमालको व्यावसायिक आरोहण सुरु भएको ७१ वर्ष भइसक्दा पनि चार सय पाँचवटा मात्र खुला गरिएको छ । बाँकी हिमाल गुमनामजस्तै छन् । विश्वकै अग्ला हिमाल देखाएर प्रशस्त पर्यटक भित्र्याउने सम्भावना भए पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।

पूर्वको कञ्चनजंघादेखि पश्चिम अपी-सैपालसम्म फैलिएका हिमाल केवल सजावटका साधन मात्रै होइनन् । यी हिमालको बहुआयामिक महत्त्व छ । कुनै समयमा नेपालको सुरक्षा कवच मानिने यी हिमाल नै हिमालयदेखि गंगा नदी किनारसम्म बस्ने ४० करोड मानिसको जीवनसँग जोडिएका छन् । पूर्वदेखि पश्चिमसम्म फैलिएको करिब १४ सय किलोमिटर लामो हिमालय रेन्जले गर्दा नै नेपाल एडभेन्चरस पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

सर्वोच्च शिखर सगरमाथासँगै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ मध्ये आठवटा हिमाल नेपालमै पर्छन् । सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेसँगै नेपालमा हिमाल आरोहणले व्यावसायिक रुपमा लिएको हो । ७१ वर्षको यो अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या सात हजारभन्दा बढी रहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङको भनाइ छ ।

नेपालमा व्यावसायिक पर्वतारोहण सुरु भएको सात दशक बित्दा पनि अहिलेसम्म जम्मा चार सय पाँचवटा हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । जबकि नेपालमा आरोहण गर्न उपयुक्त हिमालको संख्या १७ सयभन्दा बढी छ । तीमध्ये पाँच हजार पाँच सय मिटरदेखि ६ हजार पाँच सय मिटरसम्मका २७ वटा हिमाल मात्र नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने गरेको संघका महासचिव मोहन लम्सालले जनाए ।

संघले आरोहण अनुमति दिने गरेका २७ वटा हिमालबाट चालु आवमा सात करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । अन्य हिमाल गुमनामजस्तै छन् । नेपाली पर्यटनको प्रमुख आधार बनेका यी गगनचुम्बी हिमालको प्रचार गरेर बर्सेनि थप हजारौं विदेशी पर्यटक नेपाल ल्याउन सकिन्छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन लिन पनि पर्यटक आउने गरेका छन् । तर पछिल्लो समय जलवायु परिवर्तनले नेपालका हिमाल जोखिममा परेको पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भुसालको भनाइ छ ।

हिमाल आरोहण गर्ने एकजना पर्यटकले १० जनालाई रोजगारी दिने गर्छ । एकजना आरोहीले आरोहण सामग्रीमा मात्र १० लाख रुपैयाँ बढी खर्च गर्छ । यसरी एक पर्यटकले आठ हजार मिटरभन्दा माथिका हिमाल चढ्न ३० देखि ४० लाख रुपैयाँसम्म खर्च गर्छ । यति धेरै खर्च गर्न सक्ने पर्यटक भित्र्याउने माध्यम हुँदा-हुँदै प्रचारको कमीका कारण हामीले हिमालबाट अपेक्षित लाभ लिन सकेका छैनौं ।

यो पनि...

अन्नपूर्ण हिमाल आरोहण सुरु भएको ७३ वर्ष पुगे पनि सधैं ओझेलमा


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।