किन बस्दैनन् काठमाडौंमा पर्यटक ?

माघ १२, २०८० |श्रृजना बास्तोला
किन बस्दैनन् काठमाडौंमा पर्यटक ?

काठमाडौं । विश्वभरका पर्यटकका लागि काठमाडौं प्रख्यात गन्तव्य मानिन्छ । काठमाडौं उपत्यकामै विश्वसम्पदा सूचीमा सूचीकृतदेखि प्राकृतिक सम्पदासम्म छन् । अझ विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एड्भाइजर’ ले त विश्वका प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौंलाई १ नम्बरमै राखेको छ । तर, काठमाडौंमै पर्यटकको बसाइ अवधि निकै थोरै हुने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै अधिकांश पर्यटक गन्तव्यतर्फ जान हतारिएका हुन्छन् । गन्तव्य अर्थात् काठमाडौंबाहिरका पर्यटकीय स्थल- पोखरा, सौराहा, अन्नपूर्ण सर्किट, लुक्ला, लाङ्टाङ, मनास्लु, जनकपुर । तर, काठमाडौं उपत्यकामै पर्यटकको बसाइँ निकै छोटो हुने गरेको छ । पर्यटन व्यवसायीहरुले आफ्ना प्याकेजमा उपत्यकाका सम्पदा क्षेत्र अवलोकनलाई मात्र जोड दिने गरेका छन् भने यहाँका कला संस्कृति र जीवनशैलीलाई जोड्न सकेका छैनन् ।

काठमाडौं आसपासका चन्द्रागिरि, नगरकोट, धुलिखेलजस्ता पर्यटकीयस्थल पनि केही घण्टाको अवलोकनमा मात्र सीमित हुने गरेका छन् । विदेशी पर्यटकले रुचाउने प्रकृतिसँग जोडिएको हाइकिङ तथा ट्रेकिङ रुटको विकास पनि प्राथमिकतामा पर्न सकेको छैन । यद्यपि पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने भने त्यसका लागि पहल भइरहेको दाबी गर्छन् ।

त्यसै पनि पर्यटकहरुको नेपाल बसाइँ छोटिएको छ । कोरोना महामारीअगाडि एक पर्यटकको औसत नेपाल बसाइ १६ दिन रहेकामा पछिल्लो समय १२ दिनमा सीमित भएको छ । निश्चित गन्तव्यका लागि आएका पर्यटकको नेपाल बसाइँ थप्न उपत्यकाका संस्कृति र मौलिकता महत्त्वपूर्ण हुन सक्छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपालगायत सहरमा सम्पदा यात्रा, सांस्कृतिक कार्यक्रम, मौलिक खानालगायतको प्याकेजिङमा पर्यटक आकर्षित गर्न सकिन्छ । तर यसका लागि पालिकाहरुसँग पनि ठोस योजना छैन ।

काठमाडौं महानगरपालिकाले यस वर्ष पर्यटन प्रवर्द्धनका लागि बजेटमा दुईवटा गौरवका आयोजना र एउटा स्वर्णिमको आयोजना समावेश गरेको छ । पर्यटक टिकाउन र अन्य पालिकाहरुसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्ने सैद्धान्तिक योजना त महानगरसँग छ । तर कार्यान्वयन पक्ष फितलो छ ।

सन् २०२३ मा १० लाख १४ हजार ८८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकार विदेशी पर्यटकको संख्या अर्को वर्ष दोब्बर बनाउने योजनामा छ । यथेष्ट प्रचार, नयाँ गन्तव्य र आकर्षक प्याकेजिङ गर्न सके देशको राजधानी ट्रान्जिट प्वाइन्ट मात्र नभएर आकर्षक गन्तव्य बन्न सक्नेछ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।