काठमाडौं । साफ अन्डर-नाइन्टिन च्याम्पियनसिप खेल्न जाने नेपाली पुरुष टोलीको आज बिदाइ गरिएको छ । भारतको अरुणाञ्चलमा यही वैसाख २६ गते सुरु हुने च्याम्पियनसिपमा जाने नेपाली टोलीको बिदाइ गरिएको हो ।
नेपाल, भारत र श्रीलंकासँगै समूह बीमा रहेको छ । यो समूहमा नेपालले पहिलो खेल वैशाख २८ गते श्रीलंकासँग खेल्नेछ। त्यसैगरी, ३० गते भारतसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
गोल्डेन जुब्ली स्टेडियममा हुने प्रतियोगिताको समूह एमा भुटान, बंगलादेश र माल्दिभ्स छन् । नेपालले दुई पटक यो उमेर समूहको प्रतियोगिता जितेको छ ।
नेपाल सन् २०१७ र २०१५ मा च्याम्पियन बनेको थियो । गत वर्ष नेपालमै आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । त्यो टोलीका चार खेलाडी यो वर्ष पनि टिममा समावेश छन् । सन् २०१७ यता नेपालले उपाधि जित्न सकेको छैन ।