काठमाडौं । साउदी प्रो लिगमा अल नासारले अल अख्डुड माथि तीन-दुई गोलको रोमाञ्चक जीत हात पारेको छ । यो नतिजा पछि अल हिलाल उपाधिको खुसी मनाउनबाट केही समय रोकियो ।
गएराति भएको खेलमा पाहुना टोली नासारले सातौँ मिनेटमा अग्रता लिएको थियो । उसका लागि मार्शेलो ब्रोजोभिचले गोल गरेका हुन् । १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले टिमका लागि दोस्रो गोल थपे । तर ब्रेक पछि घरेलु टोलीले दुई गोल फर्काउँदै खेल बराबरी गर्यो । ६० औँ मिनेटमा हसन अल हबिबले गोल गर्दै नासार सँगको दुरी छोट्याएका थिए ।
७० औँ मिनेटमा सेभियन गुडविनले गोल गरेपछि खेल दुई-दुईको रोमाञ्चक मोडमा पुगेको थियो । इन्जुरी समयमा मार्शेलोले व्यक्तिगत दोस्रो गोल गर्दै नासारको जीत सुनिश्चित गराए । यो खेलमा नासार पराजित भएको भए, अल हिलाल च्याम्पियन बन्ने थियो । हिलाललाई उपाधि जित्न आफ्नो बाँकी चार खेलमा मात्र एक अंक आवश्यक छ । उसले शनिबार राती तालिकाको पुछारमा रहेको अल हाजिम सँग खेल्नेछ ।
शीर्ष स्थानको हिलालको ३० खेलबाट ८६ अंक छ । एक खेल बढी खेलेको नासार ७१ अंक सहित दोस्रो स्थानमा छ । १५ औँ स्थानमा यथावत् अख्डुडको २८ अंक छ ।