आईपीएलमा दिल्लीको ४ रनको रोमाञ्चक जित

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा दिल्लीको ४ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन्स प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध ४ रनको रोमाञ्चक जित निकालेको छ । गए राति भएको खेलमा दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरात निर्धानरित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्रै बनाउन सफल भयो । गुजरातका लागि साई सुदर्शन र डेभिड मिलर अर्धशतक प्रहार गरेता पनि खेल भने जिताउन सकेनन् ।

गुजरातका साईले सर्वाधिक ६५ रन बनाए । ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । मिलरले २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रन बनाए। यस्तै ऋद्धिमान साहले ३९, राशिद खानले २१ र साई किशोर १३ रन बनाए । दिल्लीका लागि रसिक सलमानले सर्वाधिक ३ विकेट लिए । यस्तै कुलदीप यादवले २, मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेले समान १-१ विकेट लिए ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ८८ रन बनाए । ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे । यस्तै, अक्षर पटेलले ६६, जेक फ्रेजर मक्गर्कले २३ र ट्रिस्टन स्टब्स २६ रनमा नट आउट रहे । गुजरातका सन्दीप वारियरले सर्वाधिक ३ विकेट लिए भने नूर अहमदले १ विकेट लिए ।

जारी लिगमा दिल्लीको यो चौथो जित हो । ९ खेलबाट ८ अंक जोडेको दिल्ली छैटौँ स्थानमा उक्लिएको छ। आज आईपीएलमा सनराईजस हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement