लगानी सम्मेलन : १२८ परियोजना छनोट, खेलकुदको शून्य

प्रचुर सम्भावना भएको खेलकुद क्षेत्रलाई सरकारले बुझ्नै सकेन, निजी क्षेत्र पनि अलमलमै
चैत्र २९, २०८० |खेल ब्युरो
लगानी सम्मेलन : १२८ परियोजना छनोट, खेलकुदको शून्य

काठमाडौं । सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ । जसमा कृषि, जलस्रोत, विद्युत्, सञ्चार, उद्योगलगायत क्षेत्रका १२८ परियोजना शो-केसमा छन् । तर लगानीको प्रचुर सम्भावना भएको खेलकुद क्षेत्रको भने एउटा पनि परियोजना समावेश छैनन् । जबकि खेलकुदलाई ठूला-ठूला पूर्वाधारको खाँचो छ । तर अझै पनि खेल क्षेत्र उद्योग बन्न सक्छ भन्ने सोच नेतृत्व र निजी क्षेत्रमा देखिएको छैन ।

लगानी सम्मेलन भनेको, मुलुकको आर्थिक विकासका लागि ठूलो मात्रामा लगानी भित्र्याउनु हो । नेपालले तेस्रोपटक लगानी सम्मेलन गर्दै छ । तर खेलकुद पनि देशको आर्थिक समृद्धिको महत्त्वपूर्ण हिस्सा हो भन्ने हेक्काचाहिँ न सरकारलाई भएको छ र निजी क्षेत्रलाई नै । प्रधानमन्त्री, खेलकुदमन्त्री जो कोहीले पनि भाषणमा नेपाल न्युट्रल भेन्यु बन्न सक्छ भन्न छुटाउँदैनन् । तर पूर्वाधार निर्माणमा भने ध्यानै छैन । देशको आर्थिक स्थिति र हाम्रो आवश्यकताबीच तालमेल नहुँदा खेल क्षेत्र ओझेलमा परेको हो भन्ने तर्क हुने गर्छ । तर लगानी सम्मेलनमा खेलकुदको एजेन्डा नपर्नुले भने सोचमै कमी रहेको पुष्टि भएको छ ।

पछिल्लो समय क्रिकेटको क्रेज अत्यधिक छ । त्रिवि क्रिकेट मैदान दर्शकको क्षमता नथेग्ने स्थितिमा पुगिसकेको छ । विराटनगर, भैरहवा, वीरगन्ज, धनगढीलगायत सहरका पूर्वाधार अधुरै छन् । मूलपानीस्थित क्रिकेटको तल्लो मैदान सरकारको लगानीमा निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न भएको छैन । दशरथ रंगशालाको विकल्प नहुँदा राष्ट्रिय फुटबल टिम होम गेम पनि विपक्षीकै मैदानमा खेल्न विवश छ ।

राष्ट्रिय खेल भलिबल, आफ्नो कभर्डहलका लागि भौंतारिएको वर्षौं भइसक्यो । सरकारसँगै निजी क्षेत्रको लगानीविना खेल क्षेत्रले फड्को मार्ने सम्भावना नै छैन । तर लगानीका लागि आग्रह गर्ने अवसर प्राप्त हुँदा खेलकुद मन्त्रालयले आफ्ना एजेन्डा नै प्रस्तुत् गरेन् । निजी क्षेत्रले यसतर्फ ध्यान नै दिएन ।

खेलकुदमा गरेको लगानी खेलकुदले नै उठाउँछ । पर्यटकलाई नेपालको आर्थिक स्रोतको एउटा बलियो माध्यम मानिन्छ । तर खेल पर्यटन भने सधैं ओझेलमै छ ।

दुई/चारवटा स्तरीय रंगशाला हुनु भनेको खेल मात्र सञ्चालन गर्नु होइन । त्यस आसपासको व्यापार व्यवसाय बढाउनु पनि हो । त्यसैबाट रोजगारीका अवसर सिर्जना गर्नु हो । खेल पर्यटकको विकास गर्नु हो । अहिले छिमेकी देश भारतका निजी क्षेत्र खेलकुदमा लगानी गर्न प्रतिस्पर्धामा छ ।

जर्मनी, दक्षिण कोरिया, जापानमा बहुउद्देश्य कम्पनीले खेल र खेलाडीमाथि ठूलो लगानी गरिरहेका छन् र सोहीअनुसारको प्रतिफल पनि लिइरहेका छन् । नेपालको बजार सानो होला, तर सुरुवातै नगर्ने हो भने सधैं खुम्चिएरै बस्नुपर्ने निश्चित छ ।