सत्ता टिकाउनकै लागि फुटाइदिएको हो जसपा : प्रधानमन्त्री दाहाल (भिडियो)

भन्नुहुन्छ- अनेक गरिन्छ तर सरकार पूरै अवधि टिकाइन्छ
वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ता टिकाउनकै लागि फुटाइदिएको हो जसपा : प्रधानमन्त्री दाहाल (भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार टिकाउनकै लागि जनता समाजवादी पार्टी नेपाललाई आफूहरूले फुटाएको स्वीकार गर्नुभएको छ ।

सिन्धुलीको सुनकोशीमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि टिकाउने बताउनुभयो । ‘यो सरकार पूरै अवधि जान्छ । तपाईँहरू द्विविधामा नबस्नु होला । अनेक गरिन्छ तर पूरै लगिन्छ’, जसपा विभाजनतिर संकेत गर्दै उहाँले भन्नुभयो, ‘त्यो अनेक गर्नेभित्र हिजो अस्तिका घटनाहरू पनि हुन् ।’

उहाँले ‘यो समीकरण अब केही दिनको मात्रै हो । त्यसपछि यो अर्को ठाउँमा पुग्छ’ भनेर अन्योल सिर्जना गर्ने कोसिसहरू पनि भएको बताउनु भयो ।

सरकारका तर्फबाट सुशासनको पक्षमा दूरगामी र ऐतिहासिक पहल भएको प्रधानमन्त्री दाहालको दाबी छ । ‘चाहे त्यो नागरिकताको समस्या समाधान गर्ने कुरा होस्, चाहे त्यो मिटरब्याज सम्बन्धी ऐन बनाउने र समस्या समाधान गर्न गरिएको कुरा होस्, या सामाजिक सुरक्षा कोषमा लाखौँ मजदुरलाई, श्रमिकहरूलाई आबद्ध गर्ने कुरा होस्; निकै दूरगामी महत्त्वका कामहरू भएका छन्,’ दाहालले अगाडि भन्नुभयो ।

जनताका सेवाका कुरामा पनि धेरै काम भएको उहाँले दाबी गर्नु भयो । ‘लाइसेन्सको कुरा, पासपोर्टको कुरादेखि लिएर अन्य धेरै कुरा भएका छन्,’ दाहालले भन्नु भयो, ‘शिक्षा क्षेत्रमा तपाइहरूले महसुस गर्नु भएकै छ; १० वर्षपछि पहिलो पटक यही सरकारको पालामा पाठ्यपुस्तक देशै भरी समयमै पुर्‍याउने काम भयो ।’ उहाँले त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति र अन्य पदाधिकारीको नियुक्ति विगतको भन्दा भिन्न तरिकाले गरिएको पनि बताउनु भयो । उहाँले राजनीतिक भागबन्डा भन्दा पर रहेर उक्त काम गरिएको दाहालको दाबी छ ।

अर्को वर्षको निम्ति नीति कार्यक्रम र बजेट अन्तिम तयारीमा रहेको जनाउँदै प्रधानमन्त्री दाहालले बजेटको तरिका र स्वरूप पनि बदलेर आउने बताउनु भयो । ‘यो पटकको नीति कार्यक्रम र बजेटले हामीले जनतामा नयाँ आशा, नयाँ भरोसा जगाउनै पर्छ भन्ने मान्यताबाट प्रेरित भएर तयारी गर्दै छौँ,’ उहाँले भन्नु भयो । बजेट जनतालाई प्रत्यक्ष रूपमा राहत दिने कुरामा केन्द्रित होस् भन्ने सोचेर नै त्यसको तयारी गरिएको उहाँले जानकारी दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.