सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो संस्करण असार ९ देखि हुने

प्रतियोगिताबाटै राष्ट्रिय टिम छनोट गरिने
वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो संस्करण असार ९ देखि हुने

काठमाडौं । सहाना प्रधान 'अन्डर नाइन्टिन' महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो संस्करण आगामी असार ९ देखि १५ गतेसम्म हुने भएको छ । यो च्याम्पियनसिपबाट 'अन्डर नाइन्टिन' राष्ट्रिय टिम छनोट गरिनेछ । सहाना प्रधान प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो ।

च्याम्पियनसिपमा सात प्रदेशका महिला र पुरुष टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रदशेलाई खेलाडी छनोटमा समय मिलोस् भन्ने उदेश्यले प्रतियोगिता छिटो गर्न लागेको भलिबल संघले जनाएको छ । वर्षभरि भलिबलका खेलाडी ब्यस्त रहे पनि उमेर समूहको प्रतियोगिता भने अभाव छ । यसले ग्रासरुट भलिबलको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले एक लाख नगद हात पार्नेछन् । यस्तै प्रतियोगिताको महिला तथा पुरुषतर्फकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमको यातायात, बसोबास, खाना र भत्तासहितको खर्च प्रतिष्ठानले ब्यहोर्ने छ ।

प्रतियोगिताको कुल लागत ८० लाख रहेको छ । आजै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.