काठमाडौं । भारतको प्रादेशिक टोली बरोडा र गुजरातसँगको सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।
आज एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासहितका पदाधिकारीले क्रिकेट टिमको बिदाइ गरेको हो । नेपाली टोली आजै भारत प्रस्थान गरेको छ ।
नेपालले चैत १८ देखि २३ गतेसम्म भारतमा फ्रेन्डसिप कप खेल्ने तालिका छ । एसीसी प्रिमियर कपको अन्तिम तयारीस्वरुप नेपाल चार खेल खेलेर उतैबाट ओमन भ्रमणमा निस्कनेछ । अघिल्लो पटक नेपालमा सम्पन्न प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गरेको नेपाल साविक विजेता समेत हो । नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी-ट्वेन्टी आई एसियाकपमा स्थान बनाउनुपर्ने चुनैती छ ।
नेपालले प्रिमियर कपअन्तर्गत चैत ३० गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै, वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-ट्वेन्टी एसिया कपमा छनोट हुनेछ ।
बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले नै पटक-पटक घोषणा गरेको पुरस्कार रकम अझै पूर्ण रुपमा नपाएको गुनासो गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले कुनै आश्वासन नबाँड्ने बताउँदै कानुनी तथा नीतिगत अस्पष्टताका कारण खेलाडीहरुले पूर्वघोषित रकम पाउन नसकेको उल्लेख गरे ।