साविक विजेता सगरमाथालाई हराउँदै आर्मी क्लब इटहरी गोल्डकपको फाइनलमा

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
साविक विजेता सगरमाथालाई हराउँदै आर्मी क्लब इटहरी गोल्डकपको फाइनलमा

सुनसरी । विभागीय टिम त्रिभुवन आर्मी क्लब १४औँ संस्करणको इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा बुधबार राति भएको पहिलो सेमिफाइनलमा साबिक बिजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोलले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । 

निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो । आर्मीको जीतमा गोलकिपर विकेश कुथु नायक बने । उनले सगरमाथाका ३ वटा प्रहारलाई विफल तुल्याए ।  

कुथुले यसअघि पनि क्वार्टरफाइनलमा समेत पेनाल्टी सुटआउटमा धकेलिएको विर्तामोड युनाइटेड विरुद्धको खेलमा ३ वटा प्रहार रोकेर आर्मीलाई सेमिफाइनल पुर्‍याएका थिए । विजय भुजेल, स्टेफन समिर बिनोङ र प्रिसोको प्रहार रोकेका कुथुले दिवारकर चौधरीको प्रहार रोक्न सकेनन् । विमल घर्ती मगरको प्रहार भने अकाशिएको थियो । 

आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोकेका थिए । 

बुधबारको खेलमा म्यान अफ द म्याच गोलकिपर कुथु घोषित हुँदै नगद १० हजार पाए । जितसँगै आर्मीले १२औं संस्करणको फाइनलमा सगरमाथासँग व्यहोरेको हारको बदला समेत लिएको छ । 

हारसँगै सगरमाथाले उपाधि माथि ह्याट्रिक गर्ने अवसर गुमायो । १२औं संस्करणको फाइनलमा सगरमाथाले आर्मीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । बिहीबारको अन्तिम सेमिफाइनल खेलमा गत वर्षको उपविजेता चर्च ब्वाईज युनाइटेड काठमाडौं र आयोजक राष्ट्रिय जागृती क्लबबीच प्रतिष्पर्धा हुनेछ । शनिबार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement