एन्फाका अटेरी पदाधिकारी, मन्त्रालयको अनुमतिविनै विदेश सयर

चैत्र ८, २०८० |खेल ब्युरो
एन्फाका अटेरी पदाधिकारी, मन्त्रालयको अनुमतिविनै विदेश सयर

काठमाडौं । फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपालले आज राति बहराइनसँग उसकै मैदानमा खेल्दै छ । नेपालको यो होम गेम हो र खेल हुनुपर्नेचाहिँ नेपालमै हो । तर दशरथ रंगशालाको पिच स्तरीय भएन । यो विषयलाई एन्फाका पदाधिकारीको विदेश भ्रमणले छायामा पारिदिएको छ ।

बहस हुनपर्ने थियो- आफ्नो मैदानमा खेल्न नपाउँदा नेपालले के गुमायो ? तर यसबारे एन्फालाई वास्ता छैन । बरु उसको ध्यान आफ्ना धेरैभन्दा धेरै पदाधिकारीलाई कसरी विदेशमा पुर्‍याउने भन्ने देखियो । बहराइनसँगको खेलका लागि एन्फाले अनुमतिविनै पदाधिकारीलाई पठाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिम्मेवारी नभएका आठ जनालाई फेरि विनाअनुमति बहराइन पठाएको छ । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिविनै विदेश जानेमा टीकाराम लामा, मणिराज विष्ट, रञ्जन कार्की, शेरबहादुर बस्नेत, राजकाजी श्रेष्ठ, रामचन्द्र तामाङ लामा, डोलशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर खत्री छन् । चिकित्सक राजु डंगोल र खेल पत्रकार गोविन्दराज नेपाललाई भने राखेपले स्वीकृति दिएको थियो । यसअघि मलेसियासँगको मैत्रीपूर्ण खेलका क्रममा पनि १० जना पदाधिकारी पुगेपछि खेलकुद मन्त्रालयले परिषद्को स्वीकृतिविना नपठाउन पत्राचार गरेको थियो ।

प्रतियोगिताहरु आयोजना नगरेर आलोचना खेपिरहेको एन्फाले घुम्नकै लागि जिम्मेवारीविहीन पदाधिकारीलाई विदेश पठाइरहेको छ । एन्फा स्रोतले सुरुवातमा खेलकुद मन्त्रालयले मौखिक स्वीकृति दिएको दाबी गरेको छ । तर मन्त्रालय त्यसलाई अस्वीकार गर्छ ।

त्यसो त यसअघि गैरकानुनी ढंगले एन्फाका पदाधिकारी मलेसिया जाँदा खेलकुद मन्त्रालयले नै गृह मन्त्रालय र अध्यागमन विभागलाई रोक्नु भनेको थियो । तर अहिले मन्त्रालयले त्यस्तो अनुरोधसम्म गरेन । अब अनुमतिविनै विदेश गएका एन्फाका पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्ले के कारबाही गर्छ त ?

एन्फामाथि अहिले सयौं प्रश्न खडा भएका छन् । प्रतियोगिता नगर्ने, मतदातालाई विदेश भ्रमण गराउने, सयौं खेलाडी पलायन हुँदा पनि रोक्न नसकेको आरोप एन्फामाथि छ । पारदर्शिता र सुशासनको नारा लिएर गत वर्षको साउनमा एन्फा अध्यक्ष भएका पंकजविक्रम नेम्वाङ अहिले यस्ता विषयमा कुनै जवाफ दिँदैनन् ।

खेलकुद मन्त्रालयले १० जना अफिसियल अनुमतिविनै मलेसिया पठाउने एन्फालाई कारबाही गर्ने भनेको छ । एन्फा स्रोतका अनुसार अब नेपालले पाँचौं डिभिजनको इंग्ल्यान्डको क्लबसँगको खेलका लागि ५५ जनालाई युरोप पठाउने तयारी छ । कन्ट्रोल फन्डिङमा चलिरहेको एन्फाले खेलाडी र खेल विकासमा आएको पैसामा गरेको रजाइँलाई भ्रष्टाचार नभएर के भन्ने ?