पेरिस ओलम्पिकमा रुस र बेलारुसका लागि झन्डा र राष्ट्रियगान प्रतिबन्ध

चैत्र ७, २०८० |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिकमा रुस र बेलारुसका लागि झन्डा र राष्ट्रियगान प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रुस र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकको उद्घाटन समारोह अन्तर्गत टिम परेडमा सहभागी नगराउने निर्णय गरेको छ । युक्रेनमाथिको आक्रमणका कारण दुवै देशका एथ्लिटलाई प्रतिबन्ध लगाइएको हो ।

तर, पेरिस ओलम्पिकका लागि छनोट भएका रुस र बेलारुसका खेलाडीले तटस्थ रुपमा प्रतिस्पर्धा गर्न भने पाउनेछन् । अर्थात, उनीहरुलाई आफ्नो देशको झन्डा र राष्ट्रिय गान प्रयोग गर्न अनुमति दिइनेछैन । उनीहरुका लागि आईओसीले विशेष झन्डा र शब्दविहीन एन्थम बनाएको छ । 

टिम परेडबाहेक उद्घाटन समारोहका अन्य गतिविधिको अनुभव भने दुवै देशका खेलाडीले लिन सक्नेछन् । समापन समारोहमा सहभागी गराउने/नगराउने भन्ने विषयमा पछि निर्णय लिने आईओसीले बताएको छ । छनोट चरण पार गरेका रुस र बेलारुसका एथ्लिटमाथि आईओसीले निर्णाण गरेको तीन सदस्यीय प्यानलले पुनः मापदन्ड पूरा भए/नभएको बारे अनुसन्धान गर्नेछ । आईओसीले दुवै देशका खेलाडीले, ओलम्पिक खेल्न योग्य हुन केही मापदन्ड निर्धारण गरेको छ । 

केही दिनअघि मात्र आईओसीले, रुसले २०२४मै आयोजनाको योजना बनाएको फ्रेन्डसिप गेम्सको आलोचना गरेको थियो । रुसको योजनाले खेललाई राजनीतीकरण गरेको र ओलम्पिक चार्टर्डको उल्लंघन गरेको आईओसीको भनाइ छ । 

पेरिस ओलम्पिकमा ३६ रुसी र २२ बेलारुसी खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसअघि भएको टोकियो ओलम्पिकमा रुसका ३ सय ३० र बेलारुसका १ सय ४ खेलाडीले भाग लिएका थिए । यसैबीच, पेरिस ओलम्पिकको उद्घाटन समारोहमा करिब ३ लाख दर्शक उपस्थित हुने अनुमान गरिएको छ । ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन स्टेडियममा नभएर सिन नदीमा आयोजना गरिँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.