नेपाली महिला फुटबल टोलीलाई वाफ च्याम्पियनसिपमा अवसर

फाल्गुन ४, २०८० |प्रदीप लेखी
नेपाली महिला फुटबल टोलीलाई वाफ च्याम्पियनसिपमा अवसर

काठमाडौं । नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्न साउदी अरेबिया गएको छ । अहिले मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो । घरेलु प्रतियोगिता निकै कम भए पनि वाफमा औसत समूहमा परेको नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

पछिल्लो समय साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा ठूला प्रतियोगिता भए । एक महिनाअघि मात्र को पा डेल रेअन्तर्गत रियल मड्रिडले बार्सिलोनासँग खेलेको थियो । युरोपेली च्याम्पियन्स लिगको खेल पनि यही मैदानमा भएको थियो । अहिले यही मैदानमा नेपाली टिमले खेल्ने अवसर पाएको छ । वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो । समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो ।

त्यसो त नेपालमा महिला लिग नभएको नै तीन वर्ष हुन लाग्यो । नेपाली टिमले वाफ च्याम्पियनसिपका लागि तीन साताको अभ्यास गरेको छ । तर अहिले घरेलु प्रतियोगिता कम भएकाले खेलाडीको फिटनेसमा धेरै काम गर्नुपरेको छ । त्यति हुँदा पनि ६ खेलाडी विदेशमा लिग खेलिरहेका छन् । सावित्रा भण्डारी फ्रान्समा खेलिरहेकी छन् । प्रशिक्षक राजेन्द्र तामाङले सावित्राको उपस्थितिले टिमको खेल उत्कृष्ट हुने बताए । कप्तान एन्जिलासँगै गीता राना, प्रीति राई र दीपा शाही आई लिगमा अनुबन्धित छन् ।

वाफ च्याम्पियनसिपमा नेपालले फागुन ८ गते सिरिया, १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । यी टोली नेपालभन्दा कमजोर मानिएका छन् । तर नयाँ खेलाडीलाई एक्सपोजर दिन यस्ता खेल आवश्यक छन् । सविना चौधरी, चन्द्रा भण्डारी र सरस्वती हमाल राष्ट्रिय टिममा पुगेका नयाँ खेलाडी हुन् । उनीहरुको लक्ष्य छ- डेब्यु गरेर टिमलाई जिताउने ।

समूहमा कमजोर टिम हुँदा सेमिफाइनलमा राम्रो प्रदर्शन गर्न सके नेपालको फाइनल पुग्ने सम्भावना छ । तर फाइनलसम्ममा सावित्रा भने क्लबका लागि फ्रान्स फर्किनेछिन् ।

वाफ च्याम्पियनसिपमा नेपालको खेल तालिका र वरीयता

नेपाल-सिरिया (१६०) फागुन ८ गते

नेपाल-इराक (वरीयताबाहिर) फागुन १० गते

नेपाल-प्यालेस्टाइन (१३६) फागुन १२ गते

सेमिफाइनल : फागुन १५ गते

फाइनल : फागुन १७ गते

यो पनि...

वाफ च्याम्पियनसिप जित्नेछौं : कप्तान तुम्बाप्पो

नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबिया प्रस्थान


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।