'करण केसी डे'लाई कसरी सम्झन्छन् क्यानाडाका खेलाडी ?

'८ - ९ विकेट जाँदा क्यानाडा क्रिकेटले हरेक पटक करण केसीलाई सम्झिन्छ'
फाल्गुन २, २०८० |सविना कार्की
'करण केसी डे'लाई कसरी सम्झन्छन् क्यानाडाका खेलाडी ?

काठमाडौं । आज १४ फेब्रुअरी, अर्थात भ्यालेटाइन्स डे । नेपाली क्रिकेट समर्थकले भने आजको दिनलाई 'करण केसी डे' का रुपमा मनाउँछन् । यो परम्परा सन् २०१८ मा सुरु भएको हो । क्यानाडाविरुद्ध करणले खेलेको अविश्वसनीय इनिङ्स नेपालको ओडीआई प्राप्त गर्ने आधार थियो । त्यसयता नेपाली क्रिकेटले लामो यात्रा तय गरिसक्दा क्यानाडाले भने ओडीआई प्राप्तिका लागि निकै संघर्ष गर्नुपर्‍यो । सन् २०२३ मा ओडीआई पाएपछि पहिलो सिरिज खेल्न क्यानाडा नेपाल नै आयो । क्यानाडाले अहिले पनि त्यो खेल बिर्सिएको छैन ।

सन् २०१८ फेब्रुअरी १४ । विन्डहक-नामिबिया, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु । जिते विश्वकप छनोट, हारे रित्तो हात । पारस खड्काको कप्तानीमा रहेको नेपालले टस जितेर फिल्डिङ रोज्ने निर्णय गर्‍यो । बसन्त रेग्मीले तीन विकेट लिए पनि क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । श्रमन्थ विजयरत्नेले अविजित १ सय ३ रन जोडेका थिए । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमायो । यहाँबाट खेल जित्नु असम्भव जस्तै थियो ।

क्यानाडाले खुसियाली मनाउने तयारी गरिसकेको थियो । त्यो क्षण सम्झेर अहिले नेपालमा ओडीआई सिरिज खेल्न आएका क्यानाडाका खेलाडी श्रमन्थ विजयरत्ने भन्छन्, 'म अहिले पनि सम्झन्छु, त्यो खेलमा मैले शतक बनाएको थिएँ । म मैदानबाहिर थिएँ । अम्पायर आएर मलाई प्लेयर अफ दि म्याचका लागि तयार रहन भनेका थिए ।'

'हामीले सोचेका थियौँ कुनै पनि समय विकेट जान्छ । खुशियाली मनाउन सुरु गरिसकेका थियौं । १२ र १३औं खेलाडी झन्डासहित जीतको खुसी मनाउन तयार भइसकेका थिए,' क्यानाडाका कप्तान साद जफर त्यो खेल सम्झँदै भन्छन्, 'करण केसी क्रिजमा आए । क्यानाडालाई लागेको थियो, अन्तिम विकेट केही क्षणमा जानेछ र हामी विश्वकप छनोट पुग्नेछौं । तर भयो अर्कै ।'

त्यो खेलको हिस्सा बनेका क्यानाडाका अर्का खेलाडी नवनीत धालिवाल सम्झन्छन्, 'त्यो क्षण एकदमै पीडादायी थियो । केही सिनियर खेलाडीको अन्तिम खेल थियो । मैले मेरो करियरमा नै करण केसीले खेलेको त्यो इनिङ्स जस्तो अहिलेसम्म देखेको छैन ।'

नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । बलिङमा थिए सिसेल परभेज, स्ट्राइकमा करण केसी ।

'हाम्रो बलर सिसेल परभेजले चार डट बल फालेका थिए । पाँचौं बलमा बाउन्ड्री हुन नदिन सचेत थियौं । म डिप एक्स्ट्रा कभरमा फिल्डिङ गरिरहेको थिएँ । करण केसीले सट प्रहार गरे । मभन्दा माथि बल आयो,' साद जफर त्यो अविस्मरणीय क्षण सम्झन्छन्, 'बल म भए ठाउँमा आउछ र म हातले धकेलेर मैदानभित्र पठाउँछु भन्ने सोचेको थिएँ । तर, मेरो टाउको माथिबाट बल गयो, छक्का भयो र नेपालले जित्यो । हामी स्तब्ध भयौं । सबै जना मैदानमा बस्यौं । नेपाली टिम आएर सान्त्वना दिँदै हामीलाई उठाए ।'

त्यही खेल खेलेका श्रीमन्थ विजयरत्ने, साद जफर, डेलोन हेलिगर र नवनित धालिवाल अहिले पनि क्यानाडा टिममा छन् । त्यो हार क्यानाडा क्रिकेटका लागि ठूलो सेट ब्याक बन्यो । आजसम्म पनि खेलाडीले त्यो पीडा भुल्न सकेका छैनन् । विपक्षी टिमको ८-९ विकेट जाँदा पनि क्यानाडा टिम ढुक्क हुँदैन ।

क्यानाडाका खेलाडी डिलोन हेलिगर भन्छन्, 'मलाई त्यो खेल एकमद राम्रोसँग याद छ । मलाई विश्वास लागिरहेको थिएन । आँखाबाट आँशु झरिरहेको थियो । तर, नेपालले राम्रो खेल्यो, ऊ जितको हकदार थियो । त्यो हार क्यानडा क्रिकेटका लागि ठूलो क्षतिका रुपमा रह्यो । ओडीआई पाउनका लागि लामो समय संघर्ष गर्‍यौं ।'

श्रमन्थ विजयरत्नेले भने, 'हरेक पटक ८ - ९ विकेट जाँदा क्यानाडा क्रिकेटले हरेक पटक करण केसीलाई सम्झिन्छ । अन्तिम विकेट नलिँदासम्म ढुक्क साथ बस्दैनौं । त्यो खेल नेपाल र क्यानाडा दुवैका लागि जीवन परिवर्तन गर्ने क्षण बन्यो ।'

नेपालले गरेको प्रगतिमा क्यानाडाका खेलाडीहरु खुसी छन् । करणको त्यो इनिङ्स सम्झँदा अहिले पनि नेपाली खेलाडी र समर्थकको मुटु ढक्क फुल्छ, 'गुजबम्स' आउँछ । सायदै त्यो खेल हारेको भए नेपाल आज जहाँ छ, त्यहाँ हुने थिएन ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।