नेपाली क्रिकेटरलाई भारतीय विदेशमन्त्रीको हौसला

पुस २०, २०८० |सविना कार्की
नेपाली क्रिकेटरलाई भारतीय विदेशमन्त्रीको हौसला

काठमाडौं । भारत, विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो । आर्थिक रुपमा नियमनकारी निकाय आईसीसीभन्दा भारतीय क्रिकेट बोर्ड बीसीसीआई बलियो छ । विश्वकै चर्चित फ्रेन्चाइज लिग आईपीएल बीसीसीआईले नै सञ्चालन गर्छ । तर छिमेकी देश नेपालले भने कूटनीतिक पहल अभावमा भारतबाट अहिलेसम्म कुनै लाभ उठाउन सकेको छैन ।

योपटक भारतका विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा क्रिकेट संघ क्यानका पदाधिकारी र खेलाडीसँग भेट गरेर हौसला दिएका छन् । यसलाई नेपाल-भारत क्रिकेट सहकार्यको सुरुवातका रुपमा समेत हेरिएको छ ।

भारतका विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । प्रायः नेपाल भ्रमणमा आउने भारतीय उच्च अधिकारीहरुको प्राथमिकता राजनीतिक मुद्दामा हुन्छ । तर योपटक विदेशमन्त्री जयशंकरले क्यान पदाधिकारी र खेलाडीलाई आफैंले बोलाएर भेटे । सबैको ध्यान राजनीतिक मुद्दामा केन्द्रित भइरहेका बेला उनले नेपाली क्रिकेटप्रति अनपेक्षित सद्भाव देखाए । भेटका क्रममा उनले विशेषगरी टी-ट्वेन्टी विश्वकप र पूर्वाधार निर्माणमा चासो राखेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

क्यानले बिहीबार मात्र सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । बिहीबार राति नै क्यानका पदाधिकारी र जयशंकरबीच नेपाली क्रिकेटको विकासमा भारत सरकार तथा बीसीसीआईले गर्न सक्ने सहयोगबारे छलफल भएको हो ।

यो वर्षको क्यालेन्डरमा नेपालले टेस्ट राष्ट्रसँग खेल्ने तालिका समावेश छैन । क्यानले जयशंकरसँग विश्वकपअघि भारतको सिमियर टिमसँगै टी-ट्वेन्टी-आई खेल्ने वातावरण मिलाइदिन आग्रह गरेको छ । भारतले बनाइदिने भनिएको चितवनको गौतम बुद्ध र धनगढीको फाप्ला रंगशालाका विषयमा भने कुनै छलफल भएन । तर, भारतका विदेशमन्त्रीले नै भेटका लागि पहल गरेकाले यो निर्णय पनि कार्यान्वयनमा हुनेमा क्यान आशावादी रहेको अध्यक्ष चन्दको भनाइ छ ।

नेपाली क्रिकेट टिमले पछिल्लो दुई वर्षमा प्राप्त गरेको सफलताले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिरहेको छ । भारतजस्तै अन्य टेस्ट राष्ट्रसँगको सहकार्यका लागि क्यान आफैंले पहल गर्ने त छँदै छ, नेपाल सरकारले पनि कूटनीतिक रुपमा सहयोग गर्न आवश्यक छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।