जिल्लाको मुर्झाएको खेलकुदलाई उठाउन खेल महोत्सव (भिडियो रिपोर्ट)

माघ २५, २०७९ |रमा दाहाल
जिल्लाको मुर्झाएको खेलकुदलाई उठाउन खेल महोत्सव (भिडियो रिपोर्ट)

काभ्रे । राज्यको चासो कम हुँदा कबड्डी, डन्डीबियोलगायतका रैथाने खेल हराइसके । फुटबल, भलिबल, क्रिकेटजस्ता खेलका लागि पर्याप्त पूर्वाधार छैनन् ।

अझ कोभिड महामारीपछि जिल्लास्तरिय खेल गतिविधि सून्यप्रायः छ । यस्तो अवस्थामा काभ्रेमा भने खेल मेला लागेको छ ।

काभ्रेको पनौतीस्थित नवनिर्मित रङ्गशाला यतिबेला युवा खेलाडीले भरिएको छ । यहाँ दुर्गम भेगका खेलाडीले आफ्नो खेल कौशल देखाउने मौका पाएका छन् । त्यसो त पनौतीको कुशादेवी र बनेपाको चाइनाटाउनस्थित मैदानमा पनि खेल प्रदर्शन भइरहेको छ ।

खेल महोत्सवमा काभे्रका सबै स्थानीय तहबाट युवा र विद्यार्थीको ९५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । शनिबार सुरु भएको महोत्सवमा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्डो, व्याडमिन्टन लगायत ११ विधाका खेलमा प्रतिस्पर्धाका लागि प्रतियोगीहरु जुटेका छन् ।

खेलकुदप्रति केन्द्र, प्रदेश र स्थानीय सरकारको चासो घटिरहेका बेला जिल्ला समन्वय समिति र खेलकुद विकास समितिले पहिलोपल्ट खेल महोत्सव नै आयोजना गरेर लामो समयदेखि मुर्झाएको खेल क्षेत्रलाई जीवन्तता दिने प्रयास गरेका हुन् ।

महोत्सवमा जिल्लाभरका २ हजार खेलाडी सहभागी छन् । खेलकुदप्रति चाख हुँदाहुँदै प्रतिस्पर्धाबाट बञ्चित भइरहेका युवालाई यो खेल महोत्सवले थोरै भएपनि अघि बढ्ने मौका दिएको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement