महिला राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा प्रवेश

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
महिला राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा प्रवेश

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमन्डले विभागीय टोली एपीएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । दुवै टोलीले सोमबार भएको प्रतिस्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए ।

दोस्रो रोजाइ खेलाडीबीचको प्रतिस्पर्धामा एपीएफ न्यु डायमन्डसँग ३-१ को सेटमा पराजित भएको हो । डायमन्डले पहिलो र दोस्रो सेट क्रमशः २५-२१ र २५-१९ ले जिते पनि तेस्रो सेट २१-२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा डायमन्ड २५-२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो । यससँगै न्यु डायमन्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो । उता एक खेलअगावै फाइनलमा पुगेको एपीएफको ६ अंक भयो । एपीएफ दोस्रो स्थानमा अटाएको हो ।

यस्तै भने सुरुवाती दुई खेलमध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमबारै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३-१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६-२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६-२४, २६-२४ र २५-२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । अब यी दुई टोलीबीच मंगलबार तेस्रो स्थानको छिनोफानोका लागि प्रतिस्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमन्ड र एपीएफ क्लबबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement