सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै

चैत्र २२, २०८० |टेकराज जोशी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धनसहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको हो । सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ ।

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् । तर, विवादका कारण हाल नागरिक उन्मुक्ती दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारकै विषयलाई लिएर पार्टीभित्र मत विभाजित भएको हो ।

हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् । एक सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विश्वासको मत दिने संकेत गरेको छ । मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिका सातै जना, स्वतन्त्र सांसद तारा जोशी र राप्रपाले समर्थन गर्दामात्रै विश्वासको मत पुग्छ । 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।