लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

चैत्र २२, २०८० |अमृता अनमोल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्रको बर्हिगमनपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे विशेष प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो ।

दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार आज मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् । हाल सरकारमा कांग्रेस, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पाटी छ । ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा विश्वाशको मत पाउन ४४ मत चाहिन्छ ।

हाल सरकारका पक्षमा कांग्रेसका २७, नागरिक उन्मुक्तीका ४, जनमतका ३, लोसपा ३ सदस्य गरी ३७ मत छन् । ३ सदस्य रहेको जसपाले केन्द्रमा नयाँ गठबन्धनलाई समर्थन गरेकाले प्रदेशमा के गर्ने निर्णय नगरीसकेको पार्टी नेता भण्डारीलाल अहिरले बताए । ३ सदस्य रहेको राप्रपा र एक सदस्य रहेको राष्ट्रिय जनमोर्चाले अझै निर्णय गरेको छैन ।

यता एमाले सहितको गठबन्दनमा एमालेका २९, माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र सांसद छन् । गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।