गठबन्धनभित्रै विश्वासको संकट, धोकाधडीपछि दलहरु झस्किए

इलाम र बझाङको उपनिर्वाचनमा सत्तारुढ दलहरु छुट्टाछुट्टै उम्मेदवारीको तयारीमा
चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
गठबन्धनभित्रै विश्वासको संकट, धोकाधडीपछि दलहरु झस्किए

काठमाडौं । चुनावी गठबन्धन, गठबन्धनको अस्थिरता र त्यसपछिको धोकाधडी र नागरिकको खबरदारीका कारण दलहरु वैशाख १५ गते हुने उपनिर्वाचनमा चुनावी गठबन्धन गर्न झस्किएका छन् । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बझाङ १ (क) को उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु गठबन्धनतर्फ नलागी आ-आफ्नै उम्मेदवार चयनको कसरतमा लागेका हुन् । सत्ता गठबन्धन दलहरुले नै छुट्टाछुट्टै उम्मेदवारी दिने निर्णय गरेपछि अब चुनावी गठबन्धनमा पूर्णविराम नै लाग्ने संकेत देखिएको छ ।

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बझाङ १ (क) मा सत्ता गठबन्धन दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार घोषणा गरेका छन् । इलाममा एमालेले सुहाङ नेम्वाङ र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । त्यस्तै बझाङमा पनि एमालेले दमनबहादुर भण्डारीलाई र एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

अर्को गठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टीले इलामका लागि शनिबार उम्मेदवार चयन गर्दै छ ।

यसले सत्ता गठबन्धन दलबीच अब चुनावी गठबन्धन नहुने स्पष्ट संकेत देखिएको छ । हालको गठबन्धनबाट पूर्ण रुपमा विश्वस्त हुन नसकेकै कारण दलहरु छुट्टाछुट्टै उम्मेदवारी दिने निर्णयमा पुगेका हुन् । अर्कोतर्फ गठबन्धन गरेर निर्वाचन लडेका कारण नागरिकको निशानामा परेका र कार्यकर्ता माझ पनि अलोकप्रिय हुने डर भएपछि दलहरु गठबन्धन गर्न झस्किएका छन् ।

गठबन्धनका अन्य दलले एक्लै चुनावमा जाने निर्णयसहित आफ्नै उम्मेदवार घोषणा गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र पनि दबाबमा परेको छ । स्थानीय अवस्था र निरन्तर घट्दो जनमतलाई राम्रोसँग बुझेको माओवादी एक्लै चुनाव लड्दा आउने नतिजालाई मूल्यांकन गरेर गठबन्धन गर्न चाहे पनि उ बाध्य भएर एक्लै उम्मेदवारी दिने निर्णयमा पुगेको हो ।

सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गर्न थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने उत्साही देखिएको छ । कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय महासमिति बैठकबाटै गरिसकेको छ । महासमिति बैठकबाटै गठबन्धन नगर्ने निर्णय गराएको कांग्रेसलाई एक्लै प्रतिस्पर्धा गरेर यो उपनिर्वाचन जित्नुपर्ने दबाब छ । त्योभन्दा पनि अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल बनेको आरोपसमेत चिर्नुपर्ने बाध्यता उसको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरुले नै छुट्टाछुट्टै उम्मेदवारी बनाउनुले चुनावी गठबन्धनको औचित्य सकिएको विश्लेषण हुन थालेको छ । गठबन्धन गर्दा जुनसुकै बेला धोका हुनसक्ने आकलन यसअघि भएका राजनीतिक घटनाक्रमले पनि देखाइसकेका छन् । अर्कोतर्फ गठबन्धन गरेर सत्ता चलाउने तर निर्वाचनमा एकजुट भएर जान नसक्ने वर्तमान सत्ता गठबन्धनको अलमलले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास छ र कुनै पनि बेला संकट उत्पन्न हुन सक्छ भन्ने संकेत यसले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement