लुम्बिनीमा सत्ता जोगाउन कांग्रेसको दौडधुप, मन्त्रालय फुटाउनसमेत तयार

फाल्गुन २९, २०८० |अमर क्षितिज भण्डारी|भुवन पाण्डे|अमृता अनमोल
लुम्बिनीमा सत्ता जोगाउन कांग्रेसको दौडधुप, मन्त्रालय फुटाउनसमेत तयार

लुम्बिनी । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिइसकेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी साना दललाई फकाएर सरकार जोगाउने कसरतमा छन् । त्यसका लागि चौधरी मन्त्रालय फुटाउनसमेत उनी तयार देखिएका छन् । 

लुम्बिनी प्रदेशका १० मध्ये ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरी माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । ३ सदस्य रहेको जसपा पनि नयाँ गठबन्धनमा गएपछि उनलाई एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तर, उनी ४ सदस्य रहेको नागरिक उन्मुक्ति र ३ सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई थप एक-एक मन्त्री दिएर पदमा रहिरहने कसरतमा छन् । 

हाल प्रतिपक्षमा रहेको राप्रपाले चौधरी नेतृत्वको सरकारमा सहभागी नहुने तर आवश्यक परे बाहिरबाटै सहयोग गर्ने वचन दिएको छ । मुख्यमन्त्री चौधरी ३ सदस्य रहेको जनमत पार्टीलाई आफैंसँग राखिराख्न थप मन्त्री दिने तयारीमा छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४४ मत चाहिन्छ । एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, जसपा, लोसपा र जनमतका तीन-तीन र नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रबाट एक-एक प्रदेशसभा सदस्य छन् । 

एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीसहितको गठबन्धन बन्दा सभामुखसहित ४४ जना पुग्छन् । राप्रपाले चौधरीलाई समर्थन गरेमा  मधेशवादी दल, राप्रपा र राष्ट्रिय जनमोर्चासमेत गर्दा चौधरीको पक्षमा ४१ मत पुग्नेछ । बाँकी २ मतका लागि स्वतन्त्र र अन्य दलको १ मतमा भर पर्नुपर्नेछ, जुन कठिन छ । चौधरीको सकस  देखेको एमाले-माओवादी गठबन्धनले उनलाई विश्वासको मत लिने सुविधा दिएरै सरकारबाट बाहिर पुर्‍याएर आफू सत्तारोहण गर्ने रणनीतिमा छ । 

निर्वाचन लगत्तै एमाले, माओवादी र राप्रपाको गठबन्धन हुँदा एमालेका लीला गिरी लुम्बिनीमा मुख्यमन्त्री भएका थिए । यसपटक मुख्यमन्त्री एमालेले पाए फेरि गिरी नै र माओवादीको भागमा परे जोखबहादुर महरा मुख्यमन्त्री बन्ने लबिङमा छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।

Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।

Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।