दाहालकै घेराभन्दा बाहिर ननिस्की सकियो ‘माओवादी केन्द्रको विधान अधिवेशन’

फाल्गुन ५, २०८० |अवतार राई
दाहालकै घेराभन्दा बाहिर ननिस्की सकियो ‘माओवादी केन्द्रको विधान अधिवेशन’

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो विधान अधिवेशनमा नेतृत्वदेखि पदाधिकारी र तल्लो तहसम्मका कार्यकारी पदमा प्रत्यक्ष निर्वाचनको कुरा मात्र उठेन,  कार्यकाल र नेतृत्व हस्तान्तरणको मुद्दासमेत पेचिलो बनेको थियो । तर कोही नेता तर्कसंगत रूपमा आए नेतृत्व छाड्न तयार रहेको बताएका अध्यक्ष पुष्पकमल दाहालले छलफलमा उठेका विषयलाई पाखा लगाउँदै अध्यक्षसहितका पदाधिकारी केन्द्रीय समितिबाट चुनिने व्यवस्था लागू गरे र आफू नेतृत्वमा रहिरहने वातावरण बनाए । 

माओवादी केन्द्रले विधान अधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने र क्षयीकरण भएको शक्तिलाई ब्युँताउने भनेको थियो । तर अधिवेशन अध्यक्ष दाहालको घेराभन्दा बाहिर निस्कन सकेन । धेरैले यसलाई कर्मकाण्डीको रूपमा बुझेका छन् ।

कुनै बेला माओवादीको केन्द्रीय समिति झन्डै ६ हजार हाराहारी थियो । अहिले पनि ४ सयभन्दा बढी सदस्य छन् । केन्द्रीय समितिको आकार भने बढिरहने तर संगठन भने दिनहुँ कमजोर बन्दै जाने परिस्थितिले पार्टीलाई चुस्त बनाउनुपर्ने आवाज उठेको थियो । सोहीअनुसार विधान अधिवेशनमार्फत चुस्त कमिटीको व्यवस्था गरिएको छ । अहिले १ सय ९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेर केही प्रतिशतबाहेक अधिकांश सदस्य प्रत्यक्ष निर्वाचित गर्ने भनिएको छ । 

विधान अधिवेशनमा सहभागी झन्डै १२ सय सदस्यहरूले गरेको समूहगत छलफलमा चुस्त कमिटीको मात्र हैन नेतृत्वदेखि पदाधिकारी र तल्ला तहसम्मकै कार्यकारी पदमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषय चर्को रूपमा उठेको थियो । तर अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यबाहेक पदाधिकारी र नेतृत्वलाई पुरानै परम्पराका आधारमा चयन गर्ने व्यवस्था लागु गरे ।

तीन दशकदेखि नेतृत्वमै रहेर पार्टी हाँकिरहेका दाहालले आफूअनुकूल समयसम्म नेतृत्वमा रहिरहन मार्गप्रशस्त गरे । यसले माओवादी केन्द्रमा उठेको नेतृत्व हस्तान्तरणको मुद्दा ओझेलमा परेको छ ।

प्रतिस्पर्धामा नेतृत्व चयन हुनुपर्ने आवाजलाई रोकेर अध्यक्ष दाहालले आफूलाई निर्विकल्प बनाएका छन् । वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वका रूपमा माओवादी केन्द्रमा दाहालको विकल्प नरहे पनि विधानमा नै आफूलाई स्वघोषित गर्नुलाई पार्टीभित्रै कतिपयले आलोचनाको विषय बनाएका छन् । तर कतिपय पदाधिकारी यसलाई स्वाभाविक ठान्छन् ।

सदाबहार नेतृत्वमा आफूलाई स्थापित गरेर अध्यक्ष दाहालले सशस्त्र युद्धताकादेखि संघर्ष गरेका धेरै नेता कार्यकर्तालाई नेतृत्व लिने अवसरबाट पन्छाएका छन् । तर फुटको लामै श्रृखंला बेहोरेर यहाँसम्म आई पुगेको माओवादी केन्द्रमा तत्काल नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउने र पार्टीभित्र आन्तरिक संघर्ष चलाउने आँट भने कसैले गर्न सकेका छैनन् ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।