प्रधानमन्त्रीको ब्ल्याक लिस्टमा १२ मन्त्री, काम नगर्नेलाई हटाउने अन्तिम तयारी

हेरफेरमा कांग्रेस सभापति देउवाको असहमति बन्यो बाधक
माघ ७, २०८० |अवतार राई
प्रधानमन्त्रीको ब्ल्याक लिस्टमा १२ मन्त्री, काम नगर्नेलाई हटाउने अन्तिम तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसक्ने मन्त्री फेर्ने अन्तिम तयारी थालेका छन् । उनले मन्त्रीहरूलाई पालैपालो बोलाएर कार्यसम्पादन सुधार गर्न निर्देशन मात्र दिएका छैनन्, सार्वजनिक कार्यक्रममै पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यति गर्दा पनि कामको शैली परिवर्तन नहुँदा उनी मन्त्री नै फेर्ने पक्षमा पुगेका छन् । तर गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म सहमति जनाएका छैनन् । को-को मन्त्री हुन् त प्रधानमन्त्री दाहालको ब्ल्याक लिस्टमा परेका ? अनि नयाँ मन्त्री को-को हुँदै छन् ?

माओवादीका ४, कांग्रेसका ४, समाजवादीका २ र जसपा २ जना मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालको ब्ल्याक लिस्टमा परेका छन् । २० जना फूलमन्त्री भएको अहिलेको क्याबिनेटमा १२ जना मन्त्री ब्ल्याक लिस्टमा पर्नु भनेको ६० प्रतिशत मन्त्री असफल भए भन्ने हो । ६० प्रतिशत मन्त्री असफल हुनु भनेको प्रधानमन्त्री दाहाल नै असफल हुनु हो । अहिले यो असफलता ढाकछोप गर्न प्रधानमन्त्री दाहाल मन्त्री फेर्ने अन्तिम कसरतमा छन् । 

प्रधानमन्त्री दाहाल आफ्नो कार्यकाल १ वर्ष पुगेलगत्तै मन्त्रीहरूको कार्यसम्पादन सन्तोषजनक नभएपछि मन्त्री फेरबदल गर्ने मनस्थितिमा पुगेका थिए । त्यसैअनुसार उनले सबै मन्त्रालयको कार्यसम्पादन सुधार गर्न १ महिनाको समय नै दिए । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनपछि दाहालले फेरि मन्त्रालयको प्रगतिबारे जानकारी लिने तयारीमा छन् । यो बेलासम्म पनि काममा सुधार नदेखिए उनी मन्त्री फेर्ने निर्णयमा पुग्ने छन् । यो कुरा युगान्डाबाट फर्कने क्रममासमेत बताइसकेका छन् ।

कार्यकारी प्रधानमन्त्रीलाई चित्त नबुझे जुनसुकै बेला मन्त्री हटाउन सक्ने अधिकार छ । तर गठबन्धनको बलमा प्रधानमन्त्री बनेका दाहाल एक्लै निर्णय गर्न सक्दैनन् । मुख्य घटक कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति दिएका छैनन् । कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा बस्दै छ । बैठकमा सरकारको समीक्षा भएपछि कस्तो परिस्थिति बन्छ, त्यही अनुसार अगाडि बढ्ने मनस्थितिमा सभापति देउवा छन् । तर कांग्रेसभित्रकै एउटा समूह भने तत्काल मन्त्री फेर्न सभापति देउवालाई दबाब दिँदै आएको छ । 

मन्त्री हेरफेरका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने तयार छन् । प्रधानमन्त्री दाहालले कुनै एक दलको मात्र नभई अधिकांश मन्त्री परिवर्तन गर्ने मनस्थितिमा रहेको माओवादीका नेताहरू बताउँछन् । दाहालले मन्त्रिपरिषद् फेरबदल गरेमा माओवादी केन्द्रबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती फिर्ता हुनेछन् । त्यसपछि माओवादी केन्द्रबाट वर्षमान पुन, देवेन्द्र पौडेल, माधव सापकोटा, हितबहादुर तामाङ र पूर्णबहादुर घर्ती मन्त्रीका सम्भावित नाम हुन् । 

प्रधानमन्त्री दाहालले कांग्रेसबाट मन्त्री बनेका अर्थमन्त्री प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र कानुनमन्त्री धनराज गुरुङलाई परिवर्तन गर्न चाहेका छन् । सभापति देउवा सकारात्मक भए त्यसपछि महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक र प्रदीप पौडेल मन्त्री बन्न सक्ने कांग्रेसका नेता बताउँछन् । यता एकीकृत समाजवादीले आफ्ना दुवै मन्त्री प्रकाश ज्वाला र वेदुराम भुसाललाई फिर्ता बोलाएर राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ र मेटमणी चौधरीमध्ये दुई जना पठाउने तयारी गरेको छ ।

त्यसो त जसपाका अध्यक्ष उपेन्द्र यादव पनि मन्त्री फेर्न तयार भइसकेका छन् । यादव आफैँ उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने मनस्थितिमा छन् । शिक्षामन्त्री अशोकुमार राई र वनमन्त्री वीरेन्द्र महतोको कामप्रति न प्रधानमन्त्री दाहाल सन्तुष्ट छन् न त यादव नै । तर गठबन्धनको मुख्य घटक कांग्रेसको सहमति विना प्रधानमन्त्री दाहाललाई चुनौती मोल्न भने कठिन हुने देखिन्छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।