कोशीमा एमालेलाई पहिचान विरोधीको आरोप

पुस २, २०८० |लक्ष्मी गौतम
कोशीमा एमालेलाई पहिचान विरोधीको आरोप

पाँचथर । एमालेको केन्द्रीय नीति अनुरूप तत्कालीन मुख्यमन्त्री हिकमत कार्कीको पालामा साबिक प्रदेश १ को नाम 'कोशी' राखिएको भन्दै आन्दोलन गरिरहेका पहिचान पक्षधरहरूले एमालेलाई पहिचान विरोधीको आरोप लगाउँदै आएका छन् । 

बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि संकल्प यात्राका क्रममा कोशी प्रदेशमा पहिचान पक्षधरले प्रदर्शन मात्र गरेनन् बन्द र हडताल आह्वान गरेर एमालेको संकल्पयात्रालाई बिथोल्ने प्रयास नै गरे ।

पार्टी पदाधिकारी, जनबर्गीय र पेसागत संघठनसँगै शुभेच्छुक र पार्टी सदस्य गरी दुई सय जनाको दलबलसहित एमाले अध्यक्ष केपी ओली झुलाघाटदेखि १७ औँ दिनमा मध्यपहाडी राजमार्ग भएर पाँचथरको फिदिम आइपुगे । एमाले अध्यक्ष ओलीको तालिका अन्तिम बिन्दु पुग्न १ सय १ किलोमिटर बाँकी  हुँदा फेरबदल भयो । 

अस्वस्थ भएको भन्दै फिदिमदेखि चिवा भन्ज्याङ पुग्न उनले हेलिकोप्टर सहारा लिए । उत्साहसाथ यात्रा गरिरहेका ओलीको तालिका अन्तिम बिन्दुमा फेरबदल हुनुमा स्वास्थ्यसँगै 'कोशी' नामविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्द हडताल र विरोधका कार्यक्रम पनि जोडिएका थिए । ओली बाहेकका नेता कार्यकर्ता कडा सुरक्षा निगरानीमा सडक मार्गबाटै फिदिमबाट चिवाभञ्ज्याङ पुगेपनि ठाँउ ठाँउमा अवरोध झेल्नुपर्‍यो ।

यसअघि पनि कार्यकर्ता भेट्न आएका बखत ओली स्वयम र निर्वाचन क्षेत्र ताप्लेजुङमा रहँदा एमाले सचिव योगेश भट्टराई माथि पनि पहिचान पक्षधर नेता कार्यकर्ताले पटक पटक विरोध र अवरोध गरे । पहिचान पक्षधर आन्दोलनकारीले भने जस्तै एमाले पहिचान विरोधी नै हो त ?

कोशी प्रदेशमा सत्ता साझेदार मध्ये नेकपा माओवादी केन्द्रले आन्दोलनलाई समर्थन गरेको छ भने कांग्रेसले नाममा पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । एमाले नेताहरू अलिकति पनि लच्किएका छैनन् ।

विधिसम्मत प्रदेशको नामकरण गरिएकोले प्रक्रिया छलफलमा प्रवेश गर्नु वा पहिचानवादीहरू स्वयमले दुई तिहाइ ल्याएर नाम फेर्नको विकल्प नरहेको दाबी उनीहरूको छ । एमालेको यही अडानले प्रदेश अशान्त बन्दै गएको टिप्पणी गर्नेहरू पनि उत्तिकै छन् ।

कोशी प्रदेशको पुनः नामकरणको मुद्दा व्यवस्थापन गर्न प्रतिपक्षमा रहेको एमालेको भूमिका महत्त्वपूर्ण छ । यसलाई एमाले स्वयं र पहिचान पक्षधरले बुझ्न जरुरी छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।