राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

उपाध्यक्ष पदमा अर्यालको एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्षमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको हो ।

अर्यालको प्रस्तावकमा राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ थिए भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा थिए ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्यालले पूर्वस्थानीय विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन् । विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मिएकी हुन् । 

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी पनि हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी छन् । सेभ द चिल्ड्रेनलगायत संस्थामा समेत काम गरेको अनुभव छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.