चुनौतीका चाङमा सीके राउत

मंसिर १२, २०७९ |आरएन विश्वास
चुनौतीका चाङमा सीके राउत

सप्तरी । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको नतिजा करिब अन्तिम चरणमा पुगेको छ । सप्तरीमा पछिल्लो परिणामअनुसार सप्तरीबाट मधेस प्रदेशमा नयाँ पार्टी 'जनमत पार्टी'को उदय भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रबाट अत्यधिक फराकिलो मतले विजयी भएका छन् भने मधेस विद्रोहका नेतृत्वकर्ता नेता जसपा अध्यक्ष उपेन्द्र यादवले पराजय व्यवहोर्नु परेको छ ।

सप्तरी २ मा कुल ९५ हजार ३ सय ९४ मतदाता छन् । त्यसमध्ये चुनावको दिन ६४ हजार २ सय १९ जनाले मतदान गरेका थिए । जसमध्ये ६० हजार ९ सय २१ मत सदर भएको हो भने ३ हजार २ सय ९८ मत बदर भएको थियो । यसरी कुल सदर मतको ५७ दशमलव ५ प्रतिशत अर्थात् ३५ हजार ४२ मत जनमत पार्टीका अध्यक्ष राउतलाई प्राप्त भएको हो ।

निकटतम प्रतिस्पर्धी जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले २७ दशमलव ८ प्रतिशत अर्थात् १६ हजार ९ सय ७९ मत मात्र प्राप्त गरे । यही क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपा उम्मेदवार जयप्रकाश ठाकुरले भने ७ हजार ३ सय ३४ मत मात्र पाए । २०७४ को निर्वाचनमा भने यही क्षेत्रबाट जसपा अध्यक्ष यादव २१ हजार ६ सय २० मत ल्याएर विजयी भएका थिए ।

विजयी भएका अधिकांश पुरानै अनुहार

सप्तरीमा सम्पन्न मतगणनाअनुसार हालसम्म जनमत पार्टीबाट एउटा प्रतिनिधिसभा सदस्य र चारवटा मधेस प्रदेशसभा सदस्यमा विजयी भएका छन् । विजयी भएकामध्ये अधिकांश राजनीतिका पुरानै अनुहार हुन् भने निर्वाचनबाट जनप्रतिनिधि बनेका अध्यक्ष राउत र एकजना प्रदेशसभामा निर्वाचित शम्भुकुमार साह भने नयाँ अनुहार हुन् ।

जनमत पार्टीका उम्मेदवारहरुसित पराजित भएकाहरु भने अधिकांश हेभिवेटका नेता छन् । जनमतका अध्यक्ष राउतसँग सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव विगतमा उपप्रधानमन्त्रीसँगै परराष्ट्र, स्वास्थ्य तथा कानुन मन्त्रालय सम्हालिसकेका नेता हुन् ।

सप्तरीको यस क्षेत्रको प्रदेशतर्फ दुवै स्थानमा राउतकै पार्टी विजयी भएको छ। सप्तरी २ को १ मा जसपाका केन्द्रीय नेता एवं मधेस प्रदेश सरकारमा पाँच वर्षसम्म कृषि र अर्थ मन्त्रालय सम्हालिसकेका शैलेन्द्रप्रसाद साहलाई जनमतका उम्मेदवार सतिशकुमार सिंहले पराजित गरेका छन् । तर, सिंह राजनीतिक नयाँ अनुहार हैनन् ।

यही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष सिंहले सोही पदमा गत वैशाखको स्थानीय तह निर्वाचन दोहर्याउन खोज्दा कांग्रेस उम्मेदवार अरुण मण्डलसँग पराजित भएका थिए । त्यसलगत्तै उनी प्रदेश सभामा निर्वाचन लड्न लोसपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका थिए । अहिलेको निर्वाचनमा सिंहले १६ हजार ७ सय ३४ मत ल्याए भने जसपाका साहले ८ हजार २ सय ९२ पाए ।

यस्तै सप्तरी २ को २ मा नेपाल सरकारका पूर्व सिचाइँमन्त्री एवं माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पूर्वसहकर्मी महेशप्रसाद यादवले पराजित गरेका छन् । पार्टीले टिकट नदिएपछि मनोनयन दर्ताको अघिल्लो रात मात्रै महेशप्रसाद जनमत पार्टीमा प्रवेश गरेका थिए । निर्वाचनमा जनमतका महेशप्रसादले १३ हजार ३ सय २५ मत ल्याए भने पूर्वमन्त्री उमेशकुमारले ७ हजार २३ मात्र ।

जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्का उम्मेदवार शम्भुकुमार साह भने राजनीतिका नयाँ अनुहार हुन् । सप्तरीको तरही निवासी साह पेशाले मेक्निकल इन्जिनियर हुन् । सप्तरी ३ को २ मा उनले ४८ मतको झिनो मतान्तरले मधेस प्रदेश सभाका निर्वतमान सदस्य एवं जसपा उम्मेदवार बिदेश्वरप्रसाद यादवलाई पराजित गरे । विजयी उम्मेदवार साहले १० हजार ८ सय ६२ मत ल्याए भने जसपाका यादवले १० हजार ८ सय १४ मत ल्याए ।

यस्तै प्रदेशसभातर्फ जनमत पार्टीबाटै चौथो नम्बरमा सप्तरी १ को २ बाट विजयी भएका सकिल मियाँ पनि राजनीतिका पुराना अनुहार हुन् । उनी विगतमा राप्रपाबाट चुनाव लडेका थिए । उनी जसपामा पनि काम गरेर केही समयअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए। उनको जितको मुख्य कारण उक्त निर्वाचन क्षेत्र जनमत पार्टीको 'गढ' नै बन्यो ।

उक्त निर्वाचन क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरमा पनि जनमत पार्टीका वीरेन्द्र माझी गत बैशाखको निर्वाचनमा विजयी भएका थिए । अहिलेको निर्वाचनमा प्रदेशतर्फ जनमतका मियाँ जसपाका सुदम्बर यादव र नेपाली काँग्रेसका क्षेत्रीय सभापति बद्रीनारायण महात्मान यादवलाई पराजित गर्दै विजयी भएका हुन्। सकिलको मत १६ हजार १ सय ६० आएको छ भने दोश्रो स्थानमा सुदम्बरको ९ हजार ८ सय ८८ र तेश्रो स्थानमा बद्रीको मत ६ हजार ६ सय १० आएको छ ।

यस्तै सिराहा ४ को १ मा माओवादी नेता एवं पूर्वमन्त्री महेन्द्र पासमानलाई जनमतका त्रिभुवन साहले पराजित गरे । ८ हजार २ सय २९ मत ल्याएर साह विजय भए भने पासमानको मत ७ हजार ८३ । सिरहा २ को १ मा पनि यही पार्टीका संजयकुमार यादवले जसपाका उम्मेदवार एवं मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा निर्वतमान कृषि मन्त्री विजयकुमार यादवलाई पराजित गरे ।

जनमतका यादवले १२ हजार १ सय ७१ मत ल्याएर विजयी भए भने जसपाका यादवले ११ हजार ५ सय २७ मत ल्याएर दोश्रो स्थान प्राप्त गरे ।

यसैगरी लुम्बिनी प्रदेशमा पनि जनमत पार्टीले प्रदेशतर्फ एक स्थानमा विजयी भएको छ । लुम्बिनी ५ को २ तर्फ जनमतका चन्द्रकेश गुप्ता १२ हजार ९ सय ४१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी फखरुद्धीन खानले ११ हजार ६ सय ५१ मत ल्याएको छ ।

यस्तै मतगणना समाप्त भएका अन्य प्रतिनिधि तथा प्रदेश सभातर्फ पनि जनमतका उम्मेदवारहरु दोश्रो- तेश्रो स्थानमा देखिएको छ ।

निर्वाचनमा 'ब्रान्ड बने सीके राउत'

अहिलेको निर्वाचनमा एकाएक जनमत पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुको प्रमुख कारण 'सीके राउत ब्रान्ड' नै देखिएको छ । निर्वाचन प्रचारको शैलीलाई विश्लेषण गर्ने हो भने सम्बन्धित प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रहरुमा उम्मेदवारभन्दा सीके राउतलाई बढी प्रचार गरिएको थियो ।

यहाँसम्मकी सम्बन्धित क्षेत्रको उम्मेदवार अरु व्यक्ति हुँदा पनि ग्रासरुटका मतदातामा सीके राउत नै उम्मेदवार भएको र आफूले मत दियो भने सीके राउत नै विजयी हुने विश्वास देखिन्थ्यो । त्यसको अर्को कारण थियो- निर्वाचनअघिका प्रतिनिधिहरुबाट मतदाता रुष्ट हुनु र विकास निर्माणमासमेत प्रत्यक्ष संलग्नता नहुनु ।

आधारभूत तहमा गरिबका नेताका रुपमा पहिचानसमेत बनाएका सीके राउत र उसको चुनाव चिह्‌न 'लाउडस्पिकर'मा मत दियो भने हाम्रा लागि केही गर्छ भन्ने बुझाइ पनि जनमानसमा थियो । यसरी हेर्ने हो भने अहिलेको निर्वाचनमा जनमत पार्टीका उम्मेदवारहरु विजयी हुनुको प्रमुख कारण नै 'सीके राउत ब्रान्ड' प्रभावकारी साबित भएको हो ।

निर्वाचनअघि नै सीकेले भ्रष्टाचार नियन्त्रण र मलखाद जस्तो किसानका विधमान समस्यालाई लिएर लामो सडक संघर्ष गरेका थिए । उनको दलले उखु किसानको समस्या समाधान गर्न पनि राजधानीसहित मुलुकको विभिन्न जिल्लामा सडक संघर्षमा उत्रेका थिए । राउतको यो कदम पनि मतदाता रिझाउने माध्यम बन्यो । अर्कोतर्फ राउतको लोकप्रिय चुनावी घोषणापत्र, आकर्षक भाषण, सामाजिक सन्जालको व्यापक प्रयोग, वैदेशिक रोजगारीकन क्रममा समस्यामा परेका युवाको उद्धार तथा मतदाता आकर्षण गर्ने गीत-संगीत पनि विजयीको अर्को ठूलो माध्यम बन्यो ।

चुनौतीको चाङ

राउतको चुनावी घोषणा पत्रमा आफुहरु विजयी भएपछि भनेअनुसारको काम गर्न नसके फिर्तासमेत हुनेगरी कानून ल्याउनुपर्ने विषय पनि पढेलेखेका मतदाताहरुलाई आकर्षित गर्यो । हरेक घरमा एक रोजगारी, किसानका समस्या समाधान, भ्रष्टाचारमुक्त देश बनाउन, शिक्षालाई निशुल्क गुणस्तरीय बनाउनु, सर्वसुलभ र निशुल्क स्वास्थ्य सेवा, जनताको शासन स्वराजकालागि, प्रत्यक्ष लोकतन्त्रकालागि, राईट टू रिकल र राईट टू रिजेक्टकालागि, मुलुकको आर्थिक बृद्धिदर १० प्रतिशत पर्याउन, मुलुकमा आर्थिक क्रान्ति र आमूल परिवर्तन, न्यूनतम बिजुली र पानी बिल फ्रि गर्न, १० करोड वृक्षारोपण गर्न, डिजिटल सरकार बनाउन, महिला सुरक्षा र सशक्तिकरण गर्न तथा बैज्ञानिक र दिगो पूर्वाधार विकासकोलागि जनमत पार्टीलाई मत दिनुपर्ने भन्दै चुनावमा राउतको पार्टी होमियो ।

तर, बाचा गरिएका यी विषयहरु पूरा गर्न कम चुनौती देखिएको छैन । राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विजयीको प्रमाण पत्र बुझ्नासाथको कुराकानीमा उनले आफ्नो पहिलो प्राथिमकता माँसिदैगएको राजनीतिक संस्कार पुन:स्थापना गर्नु बताए ।

विगतमा मधेसका मसिहा स्वर्गीय गजेन्द्रनारायण सिंहले जसरी 'सप्तरी सेवा आश्रम' चलाउँथे । ठीक त्यसैगरी आफुले पनि 'सेवा आश्रम' सञ्चालन गर्ने र त्यहाँ राजनीतिक जमघटसँगै प्रशिक्षण बढाउने अध्यक्ष राउतले भनेका छन् । उनले आफ्नो पाँचवर्षको कार्यकालमा सप्तरीलाई पूर्ण साक्षर जिल्ला बनाउने पनि बाचा मिडियासमक्ष गरे । यसअघि राउतले गरेको चुनावी बाचा सम्बन्धमा पनि हरेक परिवारमा एक जनालाई रोजगारी, भ्रष्टाचार नियन्त्रण र मलखाद्जस्ता किसानको समस्या समाधान गर्न विषय पनि पहिलो प्राथमिकतामै रहेको बताए ।

तर, विश्लेषकहरुले भने यी लोकप्रिय वाचाहरु पूरा गराउन प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित राउतलाई कम्ती चुनौती छैन । अहिले मुलुकका पहाडी जिल्लाहरुमा 'घण्टी' अर्थात राष्ट्रिय स्वतन्त्र पार्टी र 'लाउडस्पीकर' अर्थात् जनमत पार्टीको चर्चा छ । अहिले निर्वाचनले उदाउँदै गरेको यो दुवै पार्टीले मतदातासमक्ष गरेको वाचा अनुसार काम गर्न नसके यिनीहरुको हालत् पनि अहिलेका निर्वाचनमा पराजित भएकाहरुजस्तै हुनेछ ।

निर्माणधीन योजना के हुने ?

सप्तरीमा दर्जनौं निर्माणधीन योजनाहरु छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयुक्त प्रयासले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी गरिएको । एक समारोहबीच ओलीले भर्चुअल उद्घाटन गर्दै अहिले निर्माणस्थलको घेराबेरासँगै डीपीआरको तयारीमा छ ।

यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नती, नर्सिंग, इन्जिनियरिंग तथा प्राविधिक कलेजको संरचना पनि निर्माणको क्रममा छ । यस्तै ठूला योजनाहरुमा तत्कालिन मधेस प्रदेश सरकारले सप्तरीमा सञ्चालन गरेको कृषि विश्वविधालयको लागि पनि राजविराज नगरपालिकाले जग्गा प्रदान गरिसकेको छ भने विगतको चुनाव लक्षित दर्जनौं सडकहरुको शिलान्यास गरिएको थियो ।

यो बाहेक वर्षेनी बाढीको समस्यासँग जुध्दैआएका सप्तरीमा अभिशापकै रुपमा रहेको खाँडो नदी ब्यवस्थापन पनि अर्को चुनौती देखिएको छ । हुनत् आगामी पाँच वर्षभित्र नदी ब्यवस्थापन गर्न भारत सरकारको सहयोगमा सिचाइँ विभागले डिपिआर स्वीकृत गराईसकेको छ । तर, उक्त काम चाँडो भन्दा चाँडो कसरी पूरा गराउने विषय पनि पेचिलो छ । अहिलेको निर्वाचन नतिजाले जनप्रतिनिधि परिवर्तनसँगै यी योजनाहरुको काम अब कसरी पूरा हुने विषय पनि सप्तरीमा चर्चा पाएको छ ।

कुनै नेताले सुरु गरेको योजना अर्को नेताको उदायपछि पूरा नहुने पुरानो घटनाक्रमले सशंकित बनाउनु स्वभाविक नै हो । तर, अहिले देश र समाज परिवर्तन भईसकेको छ । यी र यस्ता विषयहरु जनमत पार्टीका नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।

सीकेको राजनीति यात्रा

सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ निवासी डा․ राउत काठमाण्डौस्थित पुल्चौक क्याम्पसबाट इन्जिनियरिंगमा स्नातक गरेका राउत बेलायतको क्यामब्रिज यूनिभर्सिटीबाट इन्फरमेसन इन्जिनियरिंगमा पीएचडी गरेका हुन् । केही वर्ष संयुक्त राज्य अमेरिकामा वरिष्ठ बैज्ञानिककारुपमा काम गरेका उनले २०६८ साल अमेरिका छाड्दै नेपाल फर्किएका थिए ।

त्यसपछि उनले आफु अध्ययनको क्रममा मधेसी समुदायलाई खेप्नु परेको दुर्ब्यवाहरलाई मध्यनजर गर्दै मेची-महाकाली यात्रा गर्दै मधेसलाई छुट्टै देश बनाउनुपर्छ भने स्वतन्त्र मधेस गठबन्धनको नाममा बिखण्डनको अभियान चलाएका थिए । सोही क्रममा उनी पहिलो पटक २०७१ भदौ २८ गते मोरंगको रंगेलीमा आयोजना गरेको सभाबाटै पक्राउ परेका थिए । त्यसपछि लगातार पटक-पटक राज्यविपल्वसहितको मुद्दामा पक्राउ पर्दैआएकोमा २०७४ को निर्वाचनमा कोठा बाहिरको अभियान चलाउँदा उनको गाउँ महदेवामा स्थानीयले निर्वाचन बहिष्कार गरेका थिए ।

मुद्धाकै क्रममा राउत जेलमै रहेको बखत तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा २०७५ फागुन २४ गते राउतले नेपाल सरकारसित ११ बुँदै सम्झौता गर्दै २०७५ साल चैत ४ गते जनमत पार्टी गठन गरेको हो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राउतको पार्टीले सप्तरीमा हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिका गरी कूल दुई पालिका र देशभरिका २७ वडामा निर्वाचित भएका थिए ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।