नगर प्रमुखमा हारेका अमरकान्तले सांसदमा उपेन्द्र यादवलाई दोब्बर मतले हराए

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
नगर प्रमुखमा हारेका अमरकान्तले सांसदमा उपेन्द्र यादवलाई दोब्बर मतले हराए

राजविराज । सप्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले हराउनुभएकाे छ। 

अमरकान्तले ३२ हजार ८ सय ७५ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे  । चौधरी यसअघि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुखमा चुनाव लड्नुभएकाे थियाे । तर, उहाँले १ हजार १ सय १८ मत मात्र ल्याउन सक्नुभयाे । अहिले उहाँले उपेन्द्रलाई १७ हजार ६ सय ३६ मतान्तरले हराउनुभयाे ।

२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय हुनुभएका अमरकान्त २०७४ मा राजपा नेपालबाट प्रतिनिधि सभा सदस्य जितेका स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुनुहुन्छ । त्यो बेला अमरकान्तका बुवा चन्द्रकान्तले २२ हजार ५ सय ८४ ल्याउनुभएकाे थियाे ।

अमरकान्तका निकटतम प्रतिस्पर्धी उपेन्द्रले १६ हजार मत पनि कटाउन सक्नुभएन । उपेन्द्रले १५ हजार २ सय ३९ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४ सय २८ मत पाउनुभयाे । नेकपा (एमाले)का ताराकान्त चौधरीले ६ हजार ७ सय १५, जनमत पार्टीका सरेन्द्रप्रसाद शर्माले २ हजार ८ सय ६९, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साहले १ हजार ६ सय ३५ मत ल्याउनुभयाे ।

यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ जना मतदाता छन् । यसपटकको निर्वाचनमा ४० हजार २ सय २३ महिला र ३४ हजार ६ सय ५९ पुरुष गरी ७४ हजार ८ सय ८२ जनाले मत खसाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.