
कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
लामोसमय टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै सार्वजनिक सरोकारका विषय उठाउँदै आउनु भएका बोहराले राजनीतिमा प्रवेश गरेको छोटो समयमै संसदीय सफलता हासिल गर्नु भएको हो । सार्वजनिक अन्तिम मत परिणामअनुसार बोहराले ३३ हजार ९ सय ५२ मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउदले १० हजार ८ सय २७ मत प्राप्त गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का उम्मेदवार बचन बहादुर सिंह ६ हजार ४ सय १८ मतसहित तेस्रो स्थानमा रहनु भएको छ भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव प्रसाद पन्त ६ हजार ३३७ मतसहित चौथो स्थानमा रहनु भएको छ ।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ८ सय ८१ मत खसेको थियो । जसमध्ये ३६ हजार ३ सय ८६ महिला र २८ हजार ४ सय ९५ पुरूष रहेका छन् । यहाँ कुल ५९.२१ प्रतिशत मतदान भएको थियो ।
पत्रकारिताबाट राजनीतिसम्मको यात्रा
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बोहरा करिब १८ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आउनु भएको थियो । उहाँले नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजन, न्युज २४ टेलिभिजन तथा ग्यालेक्सी टेलिभिजनजस्ता सञ्चार माध्यममा कार्यरत रहँदै विभिन्न राष्ट्रिय तथा जनचासोका विषयहरू उजागर गर्नु भएको थियो । सञ्चार क्षेत्रमार्फत समाजका विविध समस्या र सरोकारका विषय उठाउँदै आउनु भएका बोहराले पछिल्लो समय सक्रिय राजनीतिमा प्रवेश गर्नु भएको हो ।
जनताको विश्वासप्रति कृतज्ञता
निर्वाचन परिणाम सार्वजनिक भएपछि बोहराले सामाजिक सञ्जालमार्फत कञ्चनपुर क्षेत्र नम्बर २ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ । उहाँले मतदाताले आफूलाई दिनु भएको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गर्दै यो विजय आफ्नो व्यक्तिगत मात्र नभइ परिवर्तन चाहने सम्पूर्ण जनताको साझा विजय भएको बताउनु भएको छ ।
उहाँले निर्वाचन अभियानका क्रममा साथ, सहयोग र प्रेरणा दिनु हुने मतदाता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति पनि कृतज्ञता व्यक्त गर्नु भएको छ । साथै अबको आफ्नो प्रमुख दायित्व जनताको विश्वासलाई सम्मान गर्दै कञ्चनपुर क्षेत्र नम्बर २ का समस्या समाधान, सुशासनको सुदृढीकरण तथा समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्नु रहेको बताउनु भएको छ ।
बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने र क्षेत्रको हितका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।