
काठमाडौं । भारतले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गर्दै बधाइ व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ‘नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तथा नेपाली जनताले उत्साहजनक सहभागिता जनाएर आफ्नो प्रजातान्त्रिक अधिकार अभ्यास गरेकोमा बधाइ व्यक्त गर्नुभएको हो ।
नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा सञ्चारकर्मीहरूको जिज्ञासामा प्रवक्ता जैसवालले यस्तो प्रतिक्रिया दिनुभएको हो । भारतले गत वर्षका असामान्य घटनाक्रमहरूको पृष्ठभूमिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सबै सरोकारवालालाई बधाइ पनि दिएको छ ।
साथै नेपालको शान्ति, समृद्धि र स्थिरताका लागि भारतले निरन्तर सहयोग गर्दै आएको पनि जैसवालले बताउनुभयो । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र नागरिकहरूको आपसी हितका लागि नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको पनि प्रवक्ता जैसवालले बताउनुभएको छ ।