काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ । विश्वविद्यालयले विज्ञप्ति सार्वजनिक गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई समेत कारबाही गरेको जनाएको छ ।
मानसिक र शारीरिक दुर्व्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए भने कतिपय होटलमा बस्न वाध्य भएका थिए ।
विश्वविद्यालयले आज जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गरेको र दुई जना छात्रवासका कर्मचारी र एक जना प्रशासनका कर्मचारीलाई निलम्बन गरेको जनाएको छ । विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित नेपाली विद्यार्थीलाई फर्किन आह्वान पनि गरेको छ । विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने जनाएको छ ।
यसैबीच, कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै भारतका लागि नेपाली राजदूत शंकर शर्माले विश्वविद्यालय प्रशासनले घटनाप्रति माफी मागेको र बस पठाएर नेपाली विद्यार्थीलाई रेल स्टेसनबाट धमाधम छात्रावासमा फर्काइरहेको जानकारी दिनुभयो ।
उडिसाको केआईआईटी विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।
केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको घटना र सबै नेपाली विद्यार्थीलाई गरिएको निस्कासनको घटनाबारे शिक्षा र परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली विद्यार्थीको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको थियो । नेपाली विद्यार्थीप्रति विश्वविद्यालयले गरेको दुर्व्यवहारको नेपाल र भारतमा चर्को आलोचना भइरहेको छ ।
प्रकृति लम्सालमाथि उत्पीडन गर्ने व्यक्तिलाई भारतीय प्रहरीले हिजै पक्राउ गरिरसकेको छ । अवस्था तनावग्रस्त बनेपछि विश्वविद्यालय परिसरमा सुरक्षा तैनाथी बढाइएको भुवनेश्वर-कटक पुलिस आयुक्त सुरेश दत्त सिंहलाई उद्धृत गर्दै एएनआईले लेखेको छ ।