तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह : सरकारले जग्गा लुटेर राखेको छ

पुस १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह : सरकारले जग्गा लुटेर राखेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताउनु भयो । ‘यो यथाशीघ्र समाधान होस् । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको । के भन्नु र ? यहाँको मान्छेले दुःख पाउनुभएको छ,’ उहाँले भन्नुभयो ।

प्रमुख शाहले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताउनु भयो । ‘अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्नसक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, सञ्चालन आफ्नै, सबै आफ्नै । हाम्रो त अझ वडा अध्यक्ष पनि त्यही सरकारको, प्रधानमन्त्री, अर्थमन्त्री त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन,’ उहाँले भन्नुभयो ।

उहाँले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिनुभयो । उहाँले उक्त जग्गा सरकारले लुटेर राखेको बताउँदै पक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गर्नुभयो । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने मेयर शाहको दाबी छ ।

मेयर साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement