पाँच दिनदेखि लुक्लामा उडान ठप्प, विदेशी पर्यटकलाई खुम्बु पुग्नै सकस

अझै ३ दिन मौसम प्रतिकूल रहने
कार्तिक २, २०८१ |भानुभक्त निरौला
पाँच दिनदेखि लुक्लामा उडान ठप्प, विदेशी पर्यटकलाई खुम्बु पुग्नै सकस

सोलुखुम्बु । लगातार मौसम प्रतिकूल हुँदा पाँच दिनदेखि पर्यटकीय विमानस्थल लुक्लामा हवाई उडान हुन नसकेकाले सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्यामा गिरावट आएको छ । 

खुम्बु क्षेत्र घुम्नका लागि रामेछापको मन्थली पुगेका पर्यटकहरु जहाज नचलेकै कारण लुक्ला विमानस्थल आउन सकेका छैनन् । बिहानैदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लालाई हुस्सु र कुहिरोले ढाक्दा विमानहरुले उडान भर्न नसकेको विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।

लुक्लामा हवाईजहाज तथा हेलिकोप्टर अवतरणको लागि मौसमले साथ नदिए पछि बिहीबारबाट भने मन्थलीबाट हेलिकोप्टर मार्फत पर्यटकलाई सोलुको सुर्के हेलिप्याड ल्याउन थालिएको हो । लुक्ला विमानस्थलबाट आधा घण्टाको पैदल दुरीमा रहेको सुर्की हेलिप्याडमा बुधबार विभिन्न हेलिकोप्टर कम्पनीले ५० वटा उडान गरे भने फाप्लु विमानस्थलमा पनि केही हेलिकोप्टरले पर्यटकहरु ओसारेका छन् ।

‘मौसम पूरै खराब भएर केही दिन देखि त हेलिकोप्टरसमेत अवतरण गराउन सक्ने अवस्था छैन, जहाँजले उडान नभरेको ५ दिन भईसक्यो,’ विमानस्थल प्रमुख उमेश पन्थीले भन्नुभयो, ‘दैनिक १० वटा जति हेलिकोप्टरले मुस्किलले लुक्लामा उडान भर्ने गरेका छन् ।’ लुक्लामा भने ३ सयको हाराहारीमा पर्यटकहरु फर्कनको लागि विमानको पर्खाइमा छन् । केही पर्यटकहरु भने सुर्केमा आएका हेलिकोप्टरबाटै मन्थली फर्किरहेका छन् ।

अझै तीन दिन मौसम बिग्रने

लुक्लाको मौसम अझै तीन दिनसम्म लगातार प्रतिकूल रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म खुम्बु क्षेत्रको मौसममा बदली आउने जनाएको हो । 

लुक्ला क्षेत्रमा बादल र हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । ‘अझै ३ दिन लुक्लाको मौसममा सुधार आउने छाँट देखिन्न,’ मौसमविद् झाले कान्तिपुरसँग भन्नुभयो, ‘बादलसँगै हल्का वर्षाको समेत सम्भावना छ ।’ मौसमविद झाका अनुसार ठूलो वर्षा र मौसम पूरै बिग्रिने अवस्था नरहे पनि हवाई उडानका लागि भने मौसम प्रतिकूल हुनेछ ।

वैकल्पिक स्थल मार्ग झन् सकसपूर्ण

जहाज नउडेपछि पर्यटकहरुले वैकल्पिक स्थल मार्गको प्रयोग गरी खुम्बु प्रवेश गर्न थालेका छन् । उनीहरु मन्थलीबाट बीपी राजमार्ग हुँदै सोलुखुम्बु प्रवेश गर्ने गरेका छन् भने केही पर्यटक सिधै काठमाडौंबाट बीपी राजमार्ग हुँदै सोलुखुम्बु भित्रिरहेका छन् ।

यो साता शुक्रबारसम्म ४ सय बढी पर्यटक पत्ताले प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण गिरीले बताउनु भयो ।

पहिरोले क्षतिग्रस्त बनाए पछि अस्थायी रुपमा निर्माण गरिएको बीपी राजमार्गको रोशी क्षेत्रमा बाटो निकै जोखिमपूर्ण रहेको यात्रुहरुको भोगाई छ । विदेशीहरुलाई डरलाग्दो अवस्थामा सडकको यात्रा गराएर सोलु ल्याइएको पर्यटन व्यवसायीहरूको दाबी छ ।

‘रोशी क्षेत्रमा एक त बाटो कच्ची छ, बेला बेलामा सुक्खा पहिरो जाने क्षेत्रमा स-साना ढुंगा खस्छन्’ गाडी मार्फत विदेशी ल्याएर पत्ताले आइपुगेका पर्यटन व्यवसायी नवीन गुरुङले भन्नुभयो, ‘जाम मात्रै ४-५ घण्टाको हुन्छ, यात्रा त्यति सहज छैन ।’

यता सल्लेरीबाट खुम्बुपासाङल्हमु गाउँपालिका जोड्ने सडक मार्गको दूधकोशी खोलामा पक्की पुल नहुँदा पर्यटक पुर्‍याउन २ वटा गाडी पल्टी गर्नु पर्नेहुन्छ । थामेमा आएको बाढीले माप्य-खुम्बु मितेरी पुलको पिलर ढालेका कारण उक्त सडक मार्ग बन्द छ भने टाक्सिन्दु-जुभिङ जोड्ने मोटरेबल पुल निर्माण भइनसक्दा उक्त सडकमा पल्टी गरेर पर्यटकहरुलाई खुम्बुपासाङल्हमु गाउँपालिकाको थामडाँडा सम्म पुर्‍याइने गरिएको छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement