थामेका बाढीपीडितलाई प्रतिघर ६५ हजार रुपैयाँ राहत वितरण

भाद्र १, २०८१ |भानुभक्त निरौला
थामेका बाढीपीडितलाई प्रतिघर ६५ हजार रुपैयाँ राहत वितरण

सोलुखुम्बु । हिमताल फुटेर आएको बाढीबाट प्रभावित खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका पीडितलाई प्रतिघर ६५ हजार रुपैयाँ र तीन थान त्रिपाल राहत स्वरुपवितरण गरिएको छ । 

हेलिकप्टरबाट नाम्चे हुँदै थामे पुग्नु भएका रक्षामन्त्री मानवीर राईसहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिले गाउँपालिकाबाट ५० र जिल्ला विपद व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गर्नु भएको हो ।

बाढीबाट पूर्ण क्षति व्यहोरेकाहरूलाई सो रकम वितरण गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनु भयो । बाढीबाट २० वटा घर र होटल, तीन वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

खुम्बुको ठूलो जलाधार क्षेत्र टासीलाप्चा क्षेत्रमा केही दिन परेको अविरल वर्षाले र तापक्रम वृद्धिका कारण पर्माफ्रोस्ट (हिउँ र बालुवा लगायत गेग्रानको मिसावटले बनेको जमिन) पग्लिएर हिमताल फुटेर बाढी आएको अनुमान गरिएको छ । 

बाढीबाट १ सय ४० जना प्रभावित भएका छन् । उक्त क्षेत्रमा रहेका ५ वटा हिमताल मध्ये २ वटा फुटेको र अझै २ वटा फुट्न सक्ने खतरा रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनु भयो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement