सप्तरीका आगलागी पीडितले बनाउन सकेनन् छाप्रो, १० दिनदेखि खुला ठाउँमा बास

वैशाख १८, २०८१ |आरएन विश्वास
सप्तरीका आगलागी पीडितले बनाउन सकेनन् छाप्रो, १० दिनदेखि खुला ठाउँमा बास

सप्तरी । कञ्चनरुप नगरपालिका-५ को परेमाडास्थित सरदार टोलमा आगलागी भएको १० दिन बितिसक्दा पनि अग्निपीडित खुला आकासमुनि बस्न बाध्य छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले परिवार संख्याको आधारमा १५ र २० हजार रुपैयाँका दरले नगद उपलब्ध गराए पनि उक्त रकमले अस्थायी छाप्रो हाल्न समेत नसकिने भन्दै पीडितहरुले घर निर्माणका लागि सरकारसँग सहयोग मागेका छन् ।

परेमाडाकी अग्निपीडित भुटनीदेवी सरदारको प्रश्न छ, 'आगलागीमा घर जल्यो, घरमा रहेका सबै लत्ताकपडा, खाद्यान्नदेखि आफू रहेको केही सुनचाँदी पनि जल्यो । कसरी घर बनाउने अब ?'

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अग्निपीडित परिवारलाई विपद् व्यवस्थापन समिति, स्थानीय पालिका र केही संघ-संस्थाबाट खानेकुरा र त्रिपालसहित राहत सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँले घर निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो ।

वैशाख ९ गते भएको आगलागीबाट सरदार टोलका १६ परिवारको २५ वटा घर-टहरा जलेका थिए ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।