केही घण्टा नबित्दै कसरी खुल्यो लैनचौर ब्यांक्वेटको तालाबन्दी ?

वैशाख ७, २०८१ |विकास आचार्य
केही घण्टा नबित्दै कसरी खुल्यो लैनचौर ब्यांक्वेटको तालाबन्दी ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति नियन्त्रणमा लिएर तालाबन्दी गरेको नेपाल स्काउटको जग्गामा रातारात ताला खुलेको छ ।

नेपाली कांग्रेस सांसद दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको जग्गा १५ वर्षदेखि कब्जामा लिएको  विषयमा कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण भएपछि काठमाडौं जिल्ला प्रशासनले बिहीबार मध्यरातमा जग्गा र त्यसमा बनेका संरचना नियन्त्रणमा लियो । प्रहरीसहित पुगेको टोलीले उक्त जग्गामा बनेको भवनमा सिलबन्दीसमेत गर्‍यो । तर, शुक्रबार सोही संरचना निर्बाध सञ्चालनमा रहेको देखियो । 

हामी दिउँसो १ बजे स्काउटको कार्यालय पुग्दा चहलपहल कायमै थियो । स्काउटको मुख्य कार्यालय परिसर सुनसान भए पनि भवन पछाडिको पार्किङ र ब्यांक्वेटमा भिडभाड थियो । नजिकै जाँदा थाहा भयो, विवाहको कार्यक्रम भइरहेको रहेछ । बिहीबार मध्यरातमा जिल्ला प्रशासन कार्यालयले तामझामका साथ गरेको तालाबन्दी केही घण्टा पनि नबित्दै कसरी खुल्यो ? प्रशासनले भने शुक्रबारका लागि निर्धारित कार्यक्रमलाई मानवीय नाताले एक दिनका लागि सञ्चालन गर्न दिएको तर्क गर्दै शनिबारदेखि ब्यांक्वेट र रेष्टुराँसमेत नचल्ने बताएको छ । स्काउटको मात्र नभएर जिल्लाभरिकै सार्वजनिक जग्गा खोजी गरिने काठमाडौं प्रशासनले जनाएको छ । 

स्काउटलाई उक्त जग्गा सरकारले सामाजिक प्रयोजनको उद्देश्यले उपलब्ध गराएको थियो । तर, यसविपरीत स्काउटले राजनीतिक स्वार्थमा जग्गा भाडामा लगायो । कांग्रेस सांसद दीपक खड्कालाई भाडामा दिनेबाहेक  स्काउट आफैँले पनि पार्किङको जग्गा भाडामा लगाएको छ, जहाँ ब्यांक्वेट र रेष्टुराँबाहेक नेपाल ईन्भेष्टमेन्ट बैंक लगायतले भाडा तिरेर पार्किंङ गरिरहेका छन् । अहिले जे भइरहेको छ, स्काउट पनि दोषी रहेको सांसदहरुको भनाइ छ। जो भएपनि कानुनविपरीत काम कसैले गरेको भए कारबाहीको भागिदार हुने उनीहरूको भनाइ छ । 

खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका थिए । उनले आसपासको थप ९ रोपनी जग्गा समेत हडपेर दुरुपयोग गरिरहेका थिए भने भाडाबापतको ६ करोड ३० लाख पनि राजनीतिक आडमा तिरेका थिएनन् । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि खड्काले अटेर गरी कब्जामै राखेको उक्त जग्गा र त्यसमा बनेको संरचना अब स्काउटको स्वामित्वमा आउने छ । तर, सँगै स्काउटले पनि अब राजनीतिक स्वार्थ र कमिसनको लोभमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने प्रवृत्ति सुधार्नुपर्नेछ ।

सम्बन्धित समाचार...

स्काउटको जग्गामा सांसद दीपक खड्काको रजाइँ, राजनीतिक नेतृत्व मूकदर्शक

कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि हडपेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement