हुम्लामा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, ७ घाइते

चैत्र १०, २०८० |जनकबहादुर शाही
हुम्लामा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, ७ घाइते

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालकिामा शनिबार जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिपमा यात्रारत सातजना घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

खनालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अदानचुली गाउँपालकिा ५, करगाईका ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी छन् ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट चालकसहित नौ यात्रु लिएर हिँडेको सु.प.प. ००१ ज ११८३ नम्बरको बोलेरो जिप वडा नम्बर ४, पाम्स मोडमा दुर्घटनामा परेको स्थानीय जीवन बुढाले जनाए । दुर्घटनामा घाइते हुनेमा २५ वर्षीय जिप चालक जनक ठगुन्ना, अदानचुली ५ बारीगाउँका ४५ वर्षीय रामबहादुर ऐडी, सोही वडाका ४५ वर्षीय दल बोहोरा, ३८ वर्षीया चैती बुढा, ६० वर्षीय तुला टमटा, १६ वर्षीय खगेन्द्र टमटा र अदानचुली गाउँपालिका १, कल्खेका सहचालक धनबहादुर महतारा रहेका छन् ।

घाइतेहरुको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाडी चालक जनक ठगुन्ना, तुला टमटा र सहचालक धनबहादुर महताराको अवस्था सिकिस्त छ । अन्य चार घाइतेको अवस्था सामान्य रहेको अदानचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले जानकारी दिए ।

बुढाका अनुसार घाइते सबैको टाउको र शरीरको भित्री भागमा चोट लागेको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।