चितवनमा शालिन पोखरेलको मृत्यु भएको ८ दिन बित्दा पनि सकिएन पोस्टमार्टम

न्याय दिन परिवारको माग
प्रहरी भन्छ- अनुसन्धानलाई प्रभावित नबनाऊ
फाल्गुन १९, २०८० |कृपाल गौतम|राजु चौधरी
चितवनमा शालिन पोखरेलको मृत्यु भएको ८ दिन बित्दा पनि सकिएन पोस्टमार्टम

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेल यही फागुन १२ गते विद्यालयकै होस्टलमा झुन्डिएको अवस्थामा फेला परिन् । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको काठमाडौंमा पोस्टमार्टम भइरहेको छ । यहीबीचमा शालिनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त र अभियन्ताहरूले न्यायको याचना गर्दै प्रदर्शन गरिरहेका छन् । बालिकाका परिवारले शालिनलाई अर्को निर्मला पन्त नबनाउन सरकारसँग आग्रह गरेका छन् ।

फागुन १२ गते बिहान १० बजेर २० मिनेटमा रत्ननगर-१०, स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा १४ वर्षीया छात्रा शालिन पोख्रेल आफू बस्दै आएको होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परिन् ।

घटनालगत्तै प्रहरी टोली पुगेर शव निकाल्यो । त्यही दिन परिवारले विद्यालयका प्राचार्यसहित ३ जनाविरुद्ध किटानी जाहेरी दियो । तर, प्रहरीले नाम हटाएर मात्र उजुरी दिन दबाब दिँदै ४ दिनसम्म जाहेरी नलिएको शालिनका पिता दीपेन्द्र पोखरेल बताउँछन् ।

घटनाको जानकारी पाएलगत्तै आफू विद्यालय पुग्दा प्रमाणहरू मेटाउने प्रयास गरिएको उनको आरोप छ । त्यसमाथि जाहेरी लिन आनाकानी गरिएकाले पोस्टमार्टर्मकै निष्पक्षतामा शंका लागेर शव त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको दीपेन्द्रको भनाइ छ ।

घटनाको सत्यतथ्य छानबिन गरेर न्याय दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गर्दै दीपेन्द्रले आफ्नी छोरीलाई अर्को निर्मला पन्त नबनाउन आग्रह गरे ।

पीडित परिवार तथा अभियन्ताहरूले शालिनलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । पोस्टमार्टम जारी रहँदा परिवारले बालिकाको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेको छ । चितवन प्रहरीले प्रहरीले भने सामाजिक सञ्जालमा अफवाह फैलिरहेको भन्दै अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनैपनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रहसमेत गरेको छ ।

घटनाको सूक्ष्म ढंगले गम्भीर रूपमा अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय चितवनले बालिकाको सुसाइड नोटसमेत फेला पारेको छ, जसमा कसैलाई आरोप लगाइएको छैन भने आमा बुबासँग क्षमा मागिएको छ । परिवारको जाहेरीपछि पक्राउ गरिएका तीन जनालाई फागुन १५ गते जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

यो पनि...

प्रधानमन्त्रीले भने, ‘शालिनको मृत्युबारे गहन छानबिन हुन्छ’


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।