विराटनगर जुट मिल्स्‌मा आगलागी, २० लाख बराबरको क्षति

फाल्गुन ९, २०८० |सुशीला पाठक
विराटनगर जुट मिल्स्‌मा आगलागी, २० लाख बराबरको क्षति

विराटनगर । बन्द अवस्थामा रहेको देशकै पहिलो उद्योग विराटनगर जुट मिल्स्‌मा आगलागी भएको छ । 

विराटनगर महानगरपालिका-१६ मा रहेको जुट मिल्स्‌मा मंगलबार राति ९ बजेतिर सुरु भएको आगलागी एक बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले मिल्स्‌मा आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको र तीन वटा मेसिन जलेको जानकारी दिए ।

सरकारी स्वामित्वको मिल्स् २०७८ माघदेखि बन्द थियो । बन्द रहेको मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट अचानक आगलागी सुरु भएको हो । जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्ण रूपमा जलेर क्षति भएको छ । 

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने भए पनि दुई वर्षदेखि बन्द रहेको जुटमा एक्कासि आगलागी हुनुले घटना शङ्कास्पद देखिएकाले अनुसन्धान थालेको डिएसपी दाहालले बताए ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।