मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटमा कर्फ्यु

फाल्गुन ५, २०८० |राजेश्वर पाण्डे
मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटमा कर्फ्यु

रौतहट । सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका-७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बताए । पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।