कपिलवस्तुको गोबरहवा वन क्षेत्रमा देखिए ३ वटा पाटेबाघ

फाल्गुन २, २०८० |मनोज पौडेल
कपिलवस्तुको गोबरहवा वन क्षेत्रमा देखिए ३ वटा पाटेबाघ

कपिलवस्तु । कपिलवस्तुमा तीनवटा पाटेबाघ फेला परेका छन् । ११ दिनको फरकमा ३ वटा बाघ देखिएपछि संरक्षणकर्मी उत्साही भएका छन् । यसले धार्मिक पर्यटनका लागि चिनिएको कपिलवस्तु अब पर्यापर्यटनका लागि पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

कपिलवस्तुमा दुईवटा वयस्क भाले र एउटा लिंग पहिचान हुन नसेको बाघ देखिएको हो । पुस १४ गते विजयनगर गाउँपालिकास्थित गोबरहवा वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामरा ट्रयापमा पर्‍यो । पुस १९ गते विजयनगरमै अर्को वयस्क बाघ क्याप्चर भयो । तर, त्यो एउटै बाघ हो वा फरक हो डाटाहरु कम्प्युटर विश्लेषण गरी निधो गर्ने काम भइरहेको छ । अरु दुईवटा बाघ बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासको चुरे वनमा राखिएको क्यामरामा देखिएको क्यामरा ट्रयाप गर्ने प्राविधिक आशाराम चौधरीले जनाए ।

दाङ, अर्घाखाँची र कपिलवस्तुका घना वन र चुरे शृंखलामा क्यामरा लगाइएको थियो । सम्म फाँटदेखि पहाडका वनपथमा क्यामरा ट्रयापिङ गरिएको हो । डब्ल्यूडब्ल्यूएफ नेपालको सहयोगमा तराई भूपरिधि कार्यक्रम (ताल) बाँकेले तीन जिल्लामा १८१ वटा अत्याधुनिक स्वचालित क्यामरा राखेको क्यामरा ट्रयाप गर्ने अर्का प्राविधिक शैलेशकुमार यादवले भने ।

जिल्लामा एकैपटक तीनवटा बाघ साइटिङ भएपछि संरक्षणकर्मी र वन्यजन्तुप्रेमी उत्साही भएका छन् । संरक्षण क्षेत्र र निकुञ्जदेखि धेरै टाढा ठूलो संख्यामा बाघ देखिनु सम्भवत: नेपालमै पहिलो घटना भएको बाघ विशेषज्ञहरु बताउँछन् । यसले कपिलवस्तु बाघका लागि महत्त्वपूर्ण क्षेत्र रहेको हुनसक्ने देखाएको छ ।

तीन जिल्लाका ६ स्थानीय तहका चुरे वन क्षेत्रमा दुई बाई दुई किमि क्षेत्रको १८१ वटा स्याम्पलिङ ग्रिडको बीचमा ७२५ वर्गकिमि क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको थियो । हावा र तापमा हुने परिवर्तनसँगै क्यामरा सेन्सर सक्रिय भई तस्बिर दिने गरेको थियो । क्यामरा ट्रयापिङको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने बताइएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।